arrow

अमलेखगञ्ज बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, सबैको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
bara-accident-2079-06-20.jpg

बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्ज सडकखण्डमा बिहीबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराति बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयाँ मेडिकल चितवनमा र पर्सा वीरगञ्ज १६ नगवा की ६० वर्षीया मालतीदेवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबैको सनाखत भइसकेको छ । मुत्यु हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कँडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा वीरगञ्ज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीया मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया सोस्तिका श्रेष्ठ हुन् । 

त्यस्तै बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश विक, बारा कलैया १० का २५ वर्षीय इताजत अंसारी, ओखलढुङ्गाका लालबहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीया अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीया प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा वीरगञ्ज १६ नगवा की ६० वर्षीया मालतीदेवी चौरसिया हुन् । 

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौडा र वीरगञ्जका  विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ