- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आगमी ४ मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनोटका लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण बिहीबार अपरान्ह बोलाइएको सो बैठक बिहीबार बस्न नसकेपछि शुक्रबार बस्दै गरेको हो । बालुवाटारमा बस्ने बैठक सत्ताधारी दलको बैठक सकिएपछि मात्र शुरु हुनेछ ।
आजको सत्ताधारी दलको बैठकमा जनता समाजवादी पार्टी जसपा सामेल रहेको छैन । जसपाले एमालेसँग पनि साझेदारीको हात फैलाएको छ । सत्ताधारी दलहरुले अहिलेसम्म सिट बाँडफाँट गर्न नसकेको अवस्थामा यदि जसपाल एमालेतिर गए बाँकी रहेका चार दलको भाग बढ्ने देखिएको छ ।
यता कांग्रेसभित्रको सिटको रस्साकस्सी असहज ढंगले अगाडि बढिरहेको छ । अहिलेसम्म संस्थापनले शेखर कोइरालालाई कति प्रतिशत सिट दिने भन्ने यकीन गरेको छैन । त्यसकै लागि आजको छलफल महत्वपूर्ण रहेको छ ।
पर्सी आइतबार उम्मेदवारी दर्ता गर्ने दिन नै भएकाले भोलि रातिसम्ममा कुनै पनि हालतमा कांग्रेसभित्रको किचलो सकिनु पर्नेछ । अन्यथा यसले ठूलो दुर्घटनना निम्त्याउने देखिएको छ ।
कोइराला पक्षले आफूहरुलाई ४० प्रतिशत सिट चाहिने बताइरहेको छ । कोइराला स्वयं भने ३० प्रतिशतसम्म झरेर भए पनि मिल्न तयार रहेको बताइरहेको बुझिन्छ ।
तर देउवाले भने बोलीमा ३० प्रतिशत दिने भने पनि व्यवहारमा त्यसो नगर्दा समस्या भएको छ । कोइराला पक्षले न्यायपूर्ण सिट नपाए विद्रोह गर्ने चेतावनी दिइसकेको छ ।