arrow

डडेल्धुरामा देउवालाई सहज, एमाले र कांग्रेस वीपीको गठबन्धन तोडियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Sher-Bahadur-Deuba-1.jpg
तस्बिर – फाइल ।

डडेल्धुरा । डडेल्धुरा नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (वीपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (वीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । 

उनी राष्ट्रिय सभाका पूर्वसदस्य हुन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधि सभामा एकल उम्मेदवारी दिएको जनाएको छ ।

उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् । 

यस्तै प्रतिनिधि सभामा कांग्रेस (वीपी) वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन् । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुन् । 

नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस (वीपी) मा प्रवेश गरेका थिए । 

डडेल्धुराबाट नेपाली कांग्रेसका सभपाति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । एमाले र कांग्रेस (वीपी) का छुट्टाछुट्टै उम्मेदवार भएसँगै देउवालाई जितका लागि सहज भएको अनुमान गरिएको छ । 



नयाँ