- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेपछि एमालेको केन्द्रीय नेतृत्व तनावमा परेको छ । एमाले छाडेका घनश्याम भुषालले एमाले सचिव छविलाल विश्वकर्माविरुद्ध उम्मेदवारी दर्ता गराएपछि एमाले नेतृत्वले भुषालललाई फकाउने अवस्था छैन । तर अन्य नेताहरुलाई फकाउन भने केन्द्रीय सचिवायका टिम र पार्टी अध्यक्ष आफैं लागेका छन् ।
साथै आधिकारिक उम्मेदवार पनि बागीलाई फकाउन लागिपरेका छन् । प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको समर्थनमा भुषालले मनोनयन दर्ता गराएपछि छविलाल विश्वकर्माको अवस्था धरमरमा परेको छ । एमालेले टिकट नदिएपछि भुषालले शनिबार पार्टी छाडेको घोषणा गरेका थिए ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट एमालेका रामवीर मानन्धरले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मानन्धर यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीले आफूसँग कुनै परामर्श नगरेकाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नु परेको उनले बताएपछि उनलाई फकाउन काठमाडौंका अध्यक्ष दिपक निरौला लगायतका नेताहरु लागि परेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मानन्धर शहरी विकास राज्यमन्त्री बनेका थिए । एमालेले काठमाडौं ७ मा श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । तर त्यहाँ जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठलाई सहयोग गर्ने एमालेले नीति लिएको छ । उता सत्ता गठबन्धनबाट डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छिन् ।
एमालेभित्र ओली पक्षधर मानिने नेतृ गंगा चौधरीले पनि दाङ निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । एमालेले दाङ १ मा शान्ता चौधरीलाई आधिकारिक उम्मेदवार बनाएको छ । दाङ १ मा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ ।
२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा उम्मेदवार भएका मेटमणि ३७ हजार ९०८ मत पाएर विजयी भएका थिए । उनलाई फकाउन महासचिव शंकर पोखरेल र आधिकारिक उम्मेदवार शान्ता चौधरी लागिपरेका छन् । उनले आफूलाई भारतीय शक्तिले उम्मेदवार हुनबाट रोकेको आरोप लगाएकी छिन् ।
यसैगरी एमाले सचिव पद्मा अर्यालविरुद्ध पार्टीकै नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि स्याङजा २ बाट उम्मेदवारी दिएकी अर्यालविरुद्ध उनकै सचिवालयमा रहेर काम गरेका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले गण्डकी प्रदेशको सदस्य रहेका न्यौपानेले शनिबारमात्रै पार्टीबाट राजीनामा दिएर अर्यालविरुद्ध उम्मेदवारी दिएपछि एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा उम्मेदवार अर्याल आफैं पनि न्यौपानेलाई फकाउन लागिपरेकी छिन् ।
पूर्वमन्त्री प्रभु साहले पनि एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेलाई ठूलो क्षति भएको छ । एमालेका अध्यक्ष र सचिवालयको टिमले मधेसमा एमालेका उम्मेदवारविहीन हुनबाट जोगाएका छन् ।
एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको भन्दै उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । साह माओवादीबाट एमालेमा गएका थिए । एमालेबाट पनि विद्रोह गरी स्वतन्त्र भएपछि एमालेले प्रभु साहलाई फकाउने नीति लिएको छैन । ‘मधेसमा जे हुन्छ त्यही व्यहोर्दै अघि बढ्ने हो उहाँलाई फकाउनुको औचित्य छैन’, एमाले सचिवालयका एक सदस्यले भने ।
रुपेन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका दुई जनाको उम्मेदवारी परेकोमा वासुदेव घिमिरेको उम्मेदवारी कायम भएको छ । तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरे र राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले त्यहाँबाट उम्मेदवारी दिएका थिए ।
दुवैले आफू एमालेको आधिकारिक उम्मेदवार भएको दाबी गरे पनि निर्वाचन आयोगले घिमिरेको उम्मेदवारीलाई कायम गरिदिएको हो । भट्टराईले मन दुखाए पनि उनी आधिकारिक उम्मेदवारविरुद्ध जान नसक्ने भएकाले घिमिरेलाई सहयोग गर्न उनी लागि परेका छन् ।
एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधि सभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । वैरागीविरुद्ध बास्तोलाले उम्मेदवारी दर्ता गराएपछि एमालेको केन्द्रीय नेतृत्व निकै तनावमा रहेको छ ।
केन्द्र, प्रदेश र जिल्लाका सबै नेताहरु बास्तोलाको उम्मेदवार फिर्ता गराउन लागिपरेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सांसद लालबहादुर थापालाई टिकट दिएको छ । त्यहाँ निर्वाचन विभागका निरज आचार्य आफैं उम्मेदवार भएकाले बोगटीको उम्मेदवारी फिर्ता गराउन लागिपरेका छन् ।
सर्लाही १ मा एमालेका मानबहादुर खड्काको बागी उम्मेदवारी परेको छ । सुर्खेत निर्वाचन – १ को प्रदेश सभा ख मा एमालेका डण्डीप्रसाद शर्माविरुद खड्कबहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् ।
शर्मालाई जिताउन नसकिने एमालेका नेताहरुले जनाएका छन् । खत्रीले आइतबार मेहेलकुनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए ।
उनको उम्मेदवारी फिर्ता गराउन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली लागिपरेका छन् ।