arrow

नुवाकोटमा गठबन्धनको अवज्ञा, बागी उम्मेदवार कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
nuwakot-hamrakura.jpg.jpeg

काठमाडौं ।  आगामी निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी) ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा (एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।

यस्तै, प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयअनुसार कांग्रेस  उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । उनको उम्मेदवारी कायमै छ । 

नुवाकोटको दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधि सभातर्फ २८ र प्रदेशसभातर्फ ३५  उम्मेदवार कायम भएका छन् ।

गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नं १ प्रदेशसभा ‘ख’ तर्फ स्वतन्त्र उम्मेदवारी दिएका नरहरि भेटवालले फिर्ता लिएका छन् । क्षेत्र नं २ को प्रदेशसभा ‘ख’तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिनुभएका राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ