arrow

यस्तो आउँदै एमालेको घोषणापत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
uml-permanent-committee-2079-06-07.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेले यस पटक धेरै महत्त्वाकाङ्क्षी योजना उल्लेख नगरी घोषणापत्र तयार पारेको छ। एक-दुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको एमालेले ओली सरकारको पालामा भएका कामको विवरण उल्लेख गर्दे पुराना काम पूरा गर्ने प्रतिबद्धता सहितको घोषणा पत्र तयार गरेको हो।

घोषणापत्र मस्यौदा समितिका सदस्यहरू काठमाडौँबाहिर रहेकाले केही दिनमा बैठक बसेर घोषणापत्र सार्वजनिक गर्ने एमालेले तयारी गरेको छ। एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो। एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

एमाले नेता शेरबहादुर तामाङले एक-दुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार राजनीतिक स्थायित्व, राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण र समृद्धिलाई एमालेले चुनावी मुद्दा बनाउने तयारी गरेको छ। घोषणा पत्र मस्यौदा समितिका एक सदस्यका अनुसार एमालेको सरकार र स्थायी सरकारको नारा लिएर अघि सारिएको छ। एमाले यस पटक पनि केही पुराना प्रतिबद्धतालाई दोहोर्‍याएको छ।

तराईमा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अल्प विकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गरिने एमालेको घोषणा पत्रमा उल्लेख गरिएको स्रोतको दाबी  छ।

संविधानले तोके बमोजिम माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहहरूलाई सक्षम तुल्याइने र निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न केन्द्र, प्रादेशिक तथा स्थानीय सरकारहरूले आफ्नो कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षामा लगानीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको पनि स्रोतको दाबी छ।

एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीका अनुसार मस्यौदा समितिमा छलफल गरेर अन्तिम रूप दिएर घोषणापत्र सार्वजनिक गरिने छ। एमालेले घोषणापत्रका लागि सार्वजनिक रूपमा समेत सुझाव मागेको थियो। घोषणापत्रमा शिक्षा, स्वास्थ्य र रोजगारको विषयलाई प्राथमिकता दिइने एमालेले जनाएको छ। एमालेले राजनीतिक स्थायित्वका लागि एमालेको बहुमतको सरकार भन्ने नारा बनाएर जनताका बीचमा जाने तयारी गरिरहेको नेताहरूले बताएका छन्। ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको थियो। 

०७४ मा एमाले–माओवादीको गठबन्धनले झन्डै दुई तिहाइ सिट जितेको थियो। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेर नेताहरू चुनावी प्रचारप्रसारका लागि गाउँतिर लागेका छन्। 

घोषणा पत्रमा धरहरा, रानीपोखरी, पोखरा विमानस्थल, रेलसहितको कभर तस्बिर राखेर सार्वजनिक गरेको घोषणा पत्रमा बाँकी कामका योजनासमेत समेटेको छ। एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ।

एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषय समेटिएका छन्।

यसै गरी संविधान र सङ्घीयताको सफल कार्यान्वयन गरेर नेपालले विश्वमै नयाँ दृष्टान्त स्थापित गर्न सफल भएको  पृथकतावाद र हिसाबका चुनौती समाप्त पारिएको।

त्यस्ता गतिविधिमा सङ्लन्न समूहहरूलाई  राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण प्रतिस्पर्धाको मल धारमा आबद्ध गराएको विषयलाई पनि घोषणापत्रमा समेटिएको स्रोतले जनाएको छ। सुशासन, समृद्धि र समाजवादको आधार राजनीतिक स्थायित्वका लागि एमालेको सरकार भन्दै एमालेले लिम्पियाधुरा, लिपुलेक लिपु र कालापानी सहितका नेपालका भूभाग समेटेर नयाँ नक्सा प्रकाशन भयो, यसका लागि अभूतपूर्व  राष्ट्रिय सहमति निर्माण गरिएको विषयलाई पनि एमालेले आफ्नो घोषणा पत्रमा समेटेको छ।



नयाँ