- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ। निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ।
काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका छन् । काँग्रेसले बुधवार जारी गरेको विज्ञप्तिअनुसार पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । तर, काँग्रेसले बिहीबार बागीलाई थप पाँच दिन समय दिएर उम्मेदवारी निष्क्रिय बनाउने रणनीति अख्तियार गरेको छ ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी ३१ असोजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्ने बागी उम्मेदवार, प्रस्ताव र समर्थकलाई पार्टीले आवश्यक प्रक्रिया पूरा गरी कारबाही फुकुवा गर्ने उल्लेख गरेका छन् । त्यसका लागि काँग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिविद्धतासहित सार्वजनिक रूपमा वक्तव्य जारी गर्नुपर्ने उल्लेख गरेको छ ।
विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने सम्बन्धमा
यही २०७९ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरू बीच सहमति भई बनेका नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय ९२०७९ असोज २६ गते बिहान १० बजेदेखि अपराह्न १ बजे० भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम नेपाली काँग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।