arrow

पुरुष भलिबलमा गण्डकी समूह विजेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
volleyball gandaki.jpg

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ ।

पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ३-१ सेटमा हरायो ।
 
यद्यपि, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित गरिसकेका छन् । दुई टिमले समूह बिजेता बन्न प्रतिस्पर्धा गरेका हुन् ।

पहिलो सेट २५-२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५-२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन । तेस्रो सेट २५-१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५-१४ ले गण्डकी विजयी भयो ।
 
शुक्रबार भएको भलिबल खेलको उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । साविक बिजेता पुलिसले २५-१६, २५-१२ र २५-११ को सहज जित निकालेको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ ।
 
पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वागमती प्रदेश छन् । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् ।

शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।



नयाँ