- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका नेता भीमप्रसाद ढुंगानाले अब गाउँ फर्किएर चुनावमा खटिन आग्रह गरेका छन् । नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिद्वारा दशैं, शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसरमा पोखरामा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा नेता ढुंगानाले यस्तो आग्रह गरेका हुन् । उनले अन्य समय आफ्ना लागि दिएपनि अबको केही समय चुनावका लागि दिएर गठवन्धनका उम्मेदवारहरुलाई सघाउनुपर्नेमा जोड दिए ।
अबको पाँच वर्ष मुलुकका लागि निकै महत्वपूर्ण हुने भन्दै उनले विगतको पाँच वर्षमध्ये करिब साढे तीन वर्ष त्यत्तिकै खेर गएको बताए । करिब डेढ वर्षमा कांग्रेस नेतृत्वको सरकार तथा गठवन्धनले संविधानको रक्षा गर्दै जनताको मुहारमा खुशी ल्याउन सफल भएको दावी गरे ।
अबको पाँच वर्षमा कांग्रेसकै नेतृत्वमा मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने काम हुने भएकाले दायाबायाँ नगरि गठवन्धनका उम्मेदवारलाई सघाउन नेता ढुंगानाले आग्रह गरे । धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुखसमेत रहेका उनले आफ्नो नीलकण्ठ नगरपालिका पटक-पटक उत्कृष्ट त्यत्तिकै नभएको भन्दै अझै पनि राम्रो र उत्कृष्ट बनाउन प्रयास जारी रहेको स्पष्ट पारे ।
नेकपा (माओवादी केन्द्र) धादिङ-पोखरा जनसम्पर्क मञ्चका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले धादिङवासीबीच एकता अपरिहार्य रहेको बताए । उनले निर्वाचन नजिकिँदै गइरहेकाले संगसंगै गाउँ फर्किएर गठवन्धनका उम्मेद्वारलाई जिताउनुपर्नेमा जोड दिए ।
धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष बबीता मल्लले विभिन्न चाडपर्वले सबै नेपाली दाजुभाइ, दिदीबिहनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरिन् ।
समितिका संस्थापक सभापति केदार धमलाले मुलुकलाई सही ढंगले सञ्चालन गर्न कांग्रेसबाहेक अन्य दलले नसक्ने स्पष्ट पारे । उनले लोकतान्त्रिक संविधानलाई अक्षरश पालना गर्ने, गराउने सवालमा कांग्रेसले आफूलाई सधैं इमान्दार बन्दै आएको भन्दै यसको उदाहरण गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन, संविधान निर्माणपछिको पहिलो निर्वाचन र आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचन भएको बताए ।
समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठले पोखरामा रहेका सबै धादिङवासीले छाती चौडा बनाएर धादिङ फर्किन र निर्वाचनमा खटिन आवश्यक रहेको बताए । उनले गाडी भाडा, एक छाक भात र रक्सीको आश नगरि थोरै भएपनि आफ्नै बलबुँतामा जिल्ला फर्किन र कांग्रेससहित गठवन्धनका उम्मेद्वारलाई जिताउनका लागि भूमिका खेल्न आग्रह गरे ।
समितिका निवर्तमान सभापति लालप्रसाद पाठकले जनता राजनीतिक पार्टीबाट वाक्क दिक्क भइसककेको भन्दै यसतर्फ विशेषगरि नेपाली कांग्रेसले ध्यान दिन आवश्यक रहेको बताए । ‘कांग्रेस सरकारमा हुँदासमेत जनताले कुनै फरक अनुभूति गर्न पाएननन् । महंगी र खुलेआम अनियमितता भइरहँदासमेत सरकारले केही गर्न नसक्नु विडम्वना हो’, उनले भने ।
उनले भने, ‘एउटा नेपालीले गाडी चलाएर जीविकोपार्जन गर्छुभन्दा सरकारले लाइसेन्स दिंदैन । नागरिकता, राष्ट्रिय परिचयपत्र बनाउँदा पनि सोर्सफोर्सले मात्र काम हुन्छ । एउटा नेपालीले स्वदेशमै रहेर व्यापार गर्छुभन्दा त्यसले व्यापार गर्ने अवस्था नै छैन । जनता याकुल-व्याकुल हुँदै निकै आत्तिएका छन्, निराश छन् ।’
नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा समितिका सल्लाहकार मोहन पण्डितले निर्वाचनका लागि उम्मेद्वारी मनोनयन हुँदै गर्दा केही समस्या देखिएपनि विस्तारै समाधान हुँदै जाने र कांग्रेससहित गठवन्धनका उम्मेद्वारले निर्वाचन जित्ने विश्वास व्यक्त गरे ।
उनले पार्टी नेतृत्वले असल विचार राख्न नसक्दा र राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिएकै कारणले निर्वाचनमा बागीको संख्या बढेको स्पष्ट पारे । ‘यसले कांग्रेसलाई त ठूलै घाटा बनाउँछ नै, मुलुकका लागि अवश्यक पर्ने नेताहरु मुलुक बनाउने ठाउँमा नहुँदा मुलुक अवश्य पछाडि धकेलिन्छ’, उनले भने ।
समितिका सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार यादुप्रसाद ढकाल, हरि पन्त, वरिष्ठ उपसभापति माधव लम्साल, उपसभापति एवं कार्यक्रम संयोजक किशोर भट्ट, सचिव श्याम इटनी लगायतले बोलेका थिए ।