arrow

कराँतेमा गण्डकी प्रदेश च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
gandaki.jpg

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको छ । गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले बताए । 

महिला ४० केजी मुनि तौल समूहमा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन् । उनले सुदूर पश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन् । 

यसअघि शनिबारको बेलुका अवेर भएको खेलमा भने नेपाल आर्मी र गण्डकीले समान तीन/तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । 

यता, नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए । 

पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् । पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । 

यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राइले रजतमा चित्त बुझाए । 

४०-४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए । 

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । 

५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् ।

४५-५० केजी तौल समूहमा वागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् । 



नयाँ