- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दमौली । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास-१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलमा मधेस प्रदेशलाई ७१-१३ ले पराजित गरेको थियो । फुलकोर्टमै त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८-३० ले पराजित गरेको छ ।
थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४-७ ले पराजित गरेको छ । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १२-४ अङ्कले पराजित गरेको छ ।
तेस्रो दिन छ खेल सम्पन्न
प्रतियोगिताको तेस्रो दिन आइतबार छ खेल सम्पन्न भएका छन् । उक्त खेलमा बागमती प्रदेश, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जित हासिल गरेको छ ।
फुलकोर्टतर्फको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६७-४३ अङ्कले पराजित गरेको छ । बागमतीले पहिलो क्वाटरमा २५-५, दोस्रो क्वाटरमा १३-८, तेस्रो क्वाटरमा २०-१४ र चौथो क्वाटरमा ९-१६ अङ्क प्राप्त गरेको छ । खेलमा बागमतीका अनुशा मल्लले व्यक्तिगत १४ र गण्डकीका सीमा गर्बुजाले १६ अङ्क जोडेकी थिइन् ।
फुलकोर्टतर्फ सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४५-२१ अङ्कले पराजित गरेको छ । सुदूरपश्चिमले पहिलो क्वाटरमा १२-३, दोस्रो क्वाटरमा ११-७, तेस्रो क्वाटरमा ६-६ र चौथो क्वाटरमा १६-५ अङ्क प्राप्त गरेको छ । उक्त खेलमा सुदूरपश्चिमका प्रविना गुरुङले व्यक्तिगत १८ र मधेसका विपना गिरीले नौ अङ्क जोडेकी थिइन् ।
थ्री बाई थ्रीतर्फ गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । गण्डकीले सुदूरपश्चिमलाई १७-७ ले पराजित गरेको हो । गण्डकीको जितमा स्मृति गुरुङले व्यक्तिगत रुपमा सबैभन्दा बढी सात अङ्क जोडेकी थिइन् । सुदूरपश्चिमतर्फ कविता राईले पाँच अङ्क जोडिन् ।
थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीले प्रदेश नम्बर १ लाई २१-५ अङ्कले पराजित गरेको छ । उक्त खेलमा सशस्त्रका आकृति श्रेष्ठले व्यक्तिगत दश र प्रदेश नम्बर १ का सम्झना राईले तीन अङ्क जोडेकी थिइन् । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच भएको खेलमा त्रिभुवन आर्मी क्लब १२-४ ले विजयी भयो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले व्यक्तिगत छ र बागमतीका आर्या क्षेत्रीले दुई अङ्क जोडेकी थिइन् ।
थ्री बाई थ्रीतर्फ मधेस प्रदेश र लुम्बिनी प्रदेशबीच भएको खेलमा लुम्बिनीले मधेसलाई १४-१ ले पराजित गरेको छ । उक्त खेलमा लुम्बिनीका खुसी खाँणले छ अङ्क जोडेकी थिइन् ।