arrow

नवौं राष्ट्रिय खेलकुद :

शारीरिक सुगठनमा गण्डकीलाई दुई स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार

कास्की । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ । पोखरा सभागृहमा भएको खेलमा आर्मीले पनि दुई स्वर्ण जित्न सफल भएको छ भने नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो । 

गण्डकीले ५५ र ६५ किलो समूहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो भने, पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा जिते । स्वर्णका लागि प्रि-जर्ज राउण्डबाट छनोट भएका पाँच जनाबाट हमाल विजेता बने ।  

यस्तै ६० किलो तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपीएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले कास्य पदक जिते । उनहरुसँगै यो विधामा प्रदेश १ का सन्देश राई र नेपाल आर्मीका जलबहादुर चौधरी उत्कृष्ट पाँचमा परे ।  

६५ किलो तौल समूहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्नु हुँदा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदूरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य पदक ल्याए । सो विधामा एपीएफका सेमान्त कडारा र आर्मीका निशान शाही उत्कृष्ट पाँचमा थिए । ७० किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । सो तौल समूहमा आर्मीका प्रज्वलमान शाक्य, मधेस प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका वृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्टमा पाँचमा थिए । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेस प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो ।  

आइतबार भएको ७५ किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेका छन् । उनले मधेस प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदूरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पारे । ७५ किलो तौल समूहमा मधेस प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको हो । 

प्रत्येक तौल समूहका खेलाडीबीच प्रि-जर्ज गरी उत्कृष्ट पाँचबाट फाइनल खेलाएको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । शारीरिक सुगठनतर्फ ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स एक सय ७० सेमी र एक सय ७० सेमीमाथिको विधामा प्रतिस्पर्धा हुनेछ । भने महिलाहरुले खुला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा पनि सोमबार हुने संयोजक श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा प्रदेश एक, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लबका ९४ खेलाडीले सहभागिता जनाउनुभएको छ । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । 

स्टान्डर्ड एकल फाइनल समिकरण पूरा 
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्तीमगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । 

पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७-३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६-४ को सेटमा पराजित गर्नुभएको हो । 

महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७-३ को सेटमा जीत दर्ता गरे । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६-४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे ।

वरियता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्तीमगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुगे । महिलातर्फ सोनु जया र योगिता कामवाङ फाइनल पुगे ।

वरियता निर्धारण
आर्चरीकै रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको र्‍याङकिङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर पहिलो वरियतामा रहनुभएको छ । यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंङ्कका साथ तेस्रो स्थानमा छन् । 

कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफकी पार्षदा आचार्य छ सय ६१ अङ्कका साथ वरियताको शीर्ष स्थानमा रहनुभएको छ । आर्मीकी इमायुङ राई छ सय २७ स्कोरका साथ दोस्रो वरियतामा रहेका छन्। यस्तै, छ सय ११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा छन् ।रासस



नयाँ