arrow

भारत्तोलनमा पुलिसकी टीकामायालाई स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
Bharatolan.jpg

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । 

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आज दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसका टीकामाया गुरुङले स्वर्ण जितिन् । यसअघि आइतबारको उद्घाटन खेलमा प्रहरीले तीन स्वर्ण र सेनाले एक स्वर्ण जितेका थिए ।

टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’ मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । 

नेपाली सेनाका प्रभा थारूले ‘न्याच’मा ५८ र ‘क्लिन एण्ड जर्क’मा ७१ गरी कुल एक सय २९ केजी भार उठाउँदै रजत पदक जित्दा लुम्बिनी प्रदेशका कृष्णकला विष्टले कास्य पदक जिते । उनले ‘स्न्याच’ तर्फ ५६ र ‘क्लिन एण्ड जर्क’ मा ७२ गरी कुल एक सय २८ केजी तौल उठाउन सफल भए ।  प्रतियोगितामा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा दोस्रो दिन चार स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजीतौल समूहमा खेल हुनेछ ।

आगामी कात्तिक २ गतेसम्म सञ्चालन भारेत्तोलनको प्रतिस्पर्धामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०-१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल एक सय ७२ खेलाडीले भाग लिएकामा प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।



नयाँ