arrow

तेस्रो लिङ्गीहरुको अवैध यौन धन्दा रोक्न मेयर पौडेल उत्रिए सडकमा, विपदमा परेकालाई उद्दारसहित राहत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
hemkarna-poudel-itahari-mayor.jpg

इटहरी । सुनसरीकाे इटहरी चोकमा तेस्रो लिङ्गीहरुको यौन धन्दा रोक्न रातभर इटहरीका मेयर हेमकर्ण  पौडेलसहित दर्जनौं सर्वसाधारण सडकमा उत्रिएका छन् । सामाजिक विकृति रोक्न मेयर पौडेलसहित दर्जनौं सर्वसाधारण सड्कमा निस्किएका हुन् ।

रातको समयमा तेस्रो लिङ्गीहरुले इटहरीको पश्चिम लाइनमा अश्लीलता देखाएको भन्दै इटहरीका मेयर पौडेल प्रहरी प्रशासन लिएर आफैं सडकमा निस्किएका हुन् । पछिल्लो समय पोखरा, काठमाडौं लगायतका शहरहरुबाट तेस्रो लिङ्गीहरु इटहरी आउने र यौनधन्दा गरेर अपराध बढेकाले सभ्य समाज निर्माण गराउन लागि पर्ने मेयर पौडेलको भनाइ छ ।

तेस्रोलिङ्गीहरूले रातको समयमा अश्लीलता प्रकट गरेर सताएका थुप्रै मौखिक गुनासा आइरहेका बेला केहीलाई पक्राउ गरेर एक रात राखेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए । ‘उनीहरुलाई इटहरी छोड्न चेतावनी दिएका छौं’ उनले भने । 

रातको समयमा अवैध  धन्दासँगै चोरी र लुटपाटको घटनासमेत बढेको प्रहरीको निष्कर्ष छ । इटहरी ९ का वडाध्यक्ष जितेन थापाले शहरमा विकृति फैलाएको भन्दै तेस्रो लिङ्गीहरुलाई अनैतिक काम नगर्न चेतावनी दिएको बताए । अन्य शहरबाट इटहरी आएर अवैध काम गर्ने गरेको भन्दै वडाध्यक्ष थापाले इटहरीलाई सभ्य शहर बनाउनका लागि यो अभियानलाई निरन्तरता दिने बताए ।

नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले इटहरीमा बाहिरबाट तेस्रो लिङ्गीहरु आएर धन्दा मच्चाएको भन्दै यो अभियानले भगाउन पर्ने बताए । फ्ल्याट भाडामा लिएर उनीहरु अंग प्रदर्शन गरेर रातको समयमा इटहरीको बदनाम गरिरहेको उनीहरुको भनाइ थियो ।

मेयर हेमकर्ण पौडेलका स्वकीय सचिव बिक्रम घिमिरेले भने मुख्य चोकमै हुने नकारात्मक गतिविधिबारे नगर प्रमुखले कडा कदम चाल्ने बताए । सडक आसपासमा बस्दै आएकाहरुलाई उद्दार गर्ने अभियान निरन्तर चल्ने घिमिरेको भनाइ छ । 

मंगलबार १३ जनाको उद्दार 
मंगलबारको राति १३ जना सडक आश्रित मानिसहरुलाई उद्दार गरिएको हो । १३ जनामध्ये तीन जना सुधारकेन्द्र , १ जना भीओसी र बाँकीलाई माया घर नेपालमा पठाइएको  छ । 

सोमबार राति पनि १३ जनालाई नै सडकबाट उद्दार गरिएको थियो । मानसिक सन्तुलन गुमाएका तथा आफन्त नभएकाहरुलाई उद्दार गर्न इटहरी उपमहानगरले अभियान चलाएको हो ।

मेयरले दिए अलपत्र परेकालाई घरसम्म पुग्ने खर्च 
मध्यरातमा खर्चको कारण इटहरी आसपासमा अलपत्र परेकाहरुलाई इटहरीका मेयर हेमकर्ण पौडेलले घर पुग्ने सम्मको व्यवस्था गरिदिएका छन् ।  

मंगलबार राति आर्थिक अभावको कारण इटहरीको पेटीमा भेटिएका सबिन धिमाललाई एक रात इटहरीमा खान बस्न सहित घर पुग्ने व्यक्तिगत खर्च मेयर पौडेलले दिएका हुन् ।

धिमालले आफू आर्थिक अवस्थाको कारण समस्यामा परेको बेला आफूलाई खर्च दिएको भन्दै मेयरको प्रसंशा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ