- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ ।
पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते ।
गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्धितीय वरियतामा छन् । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो ।
निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो । यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ ।
सफ्टटेनिसतर्फ ‘मिक्स डबल्स’को आज सम्पन्न भएको फाइनल खेलमा प्रदेश नं १ ले स्वर्ण पदक जितेको छ । पोखरा रङगशालास्थित टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।
प्रतियोगितामा बागमतीले रजत पदकमा चित्त बुझाउनु पर्यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे । सफ्ट टेनिस डबल्सतर्फको मङ्गलबार भएको खेलमा विभागीय टोली नेपाल प्रहरी र एपिएफले एक–एक स्वर्ण जितेका थिए ।
पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडी र महिलातर्फ एपिएफका भगवती विक र समृद्धि महर्जनको जोडीले स्वर्ण जिते ।