arrow

नवौं राष्ट्रिय खेल :

एथ्लेटिक्स र पुरुष दौडमा पार्की दाजुभाइलाई स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
pokhara-stadium-athletics.jpg

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । 

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नवौं राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्णपदक हो । 

सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते । उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेन्ड समय लगाउँदै रजत पदक जितेका हुन । त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते । उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गरे । 


त्यसैगरी दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जिते । एपिएफका खेलाडी उनले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्ड समय खर्चदै पूरा गरे । नवौं खेलमा उनको यो तेस्रो स्वर्णपदक हो । यसअघि उनले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्णपदक जितेका थिए ।
 
सोही स्पर्धामा एपिएफका खेलाडी आशिष चौधरीले रजत जित्दा त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते । आशिषले निर्धारित दूरी २२ दशमलव ०५ सेकेन्डमा पूरा गरे भने युवराजले २२ दशमलव ५० सेकेन्ड समय लगाए । एपिएफका गोपीचन्द्र र शिवराज दाजुभाइ हुन । उनीहरू दुवैका लागि आजको दिन विशेष रह्यो । 



नयाँ