arrow

कराँतेमा नौ स्वर्णसहित पुलिस च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
Karante.jpg

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै आफ्नो बर्चस्व कायम गरेको छ । 

गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्डहलमा भएको ५३औँ राष्ट्रिय कराते प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र पाँच कास्य पदक गरी कुल १७ पदकसहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एपिएफ क्लबले पाँच स्वर्ण, दुई रजत र सात कास्यसहित १४ पदक हासिल गर्‍यो । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, पाँच रजत र एक कास्य गरी कुल आठ पदकसहित तेस्रो स्थानमा रह्यो । 

बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक हात पारेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्णसहित छ कास्य पदक प्राप्त गर्दा गण्डकीले तीन रजत र तीन कास्यमा चित्त बुझायो । 

प्रदेश नं १ ले तीन रजत र छ कास्य पदक प्राप्त गर्‍यो । लुम्बिनी प्रदेशले एक रजत र तीन कास्य पदक प्राप्त गर्दा कर्णालीले भने दुई कास्य पदकमा मात्रै चित्त बुझाउनुपर्‍यो ।
 
कर्णाली प्रदेशले दुई कास्य पदक लिन सफल हुँदा मधेस प्रदेशले भने एक कास्यमा मात्रै चित्त बुझाएको छ । कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो । 

हतारमा गरिएको तयारीका बीच कराँतेका खेलाडीले भने पर्वतमा खेल पूर्वाधारको अभाव भएको प्रतिक्रिया दिएका थिए । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उत्कृष्ट खेलाडीलाई पदक वितरण गरेका थिए । कराँतेका सबै इभेन्ट सकिएसँगै खेलाडी पोखरातर्फ फर्किएका छन् ।



नयाँ