arrow

खोटाङमा यस्तो छ चुनावी तालमेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
khotang-district.png

खोटाङ । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न खोटाङका उम्मेदवार घरदैलोमा अभियानमा जुटेका छन् । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन् । 

पुराना अनुहारका उम्मेदवार यसअघि आफ्नो कार्यकालमा पूरा गर्न बाँकी योजना गर्न तथा नयाँ अनुहारका उम्मेदवार एकपटक अवसर दिन अनुरोध गर्दै दिनरात नभनी घरघर पुगेर मतदाता रिझाउन व्यस्त देखिएका छन् । जिल्लाका मतदाता भने मङ्सिर ४ गते हुने निर्वाचन कुरेर बसेका छन् । एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा २६ नेता चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले यही कात्तिक १३ गतेभन्दा अगाडि सभा–सम्मेलन गर्न रोक लगाए पनि उम्मेदवारले पार्टीको विस्तारित बैठक, शुभकामना आदान–प्रदान, कार्यकर्ता भेटघाटलगायत विभिन्न बहानामा बृहत् कार्यक्रम गरिरहेका छन् । 


दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको छ । प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्र तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादी र प्रदेशसभा (ख)मा कांग्रेसले टिकट पाएको छ । 

माओवादीबाट पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका १ नं प्रदेशका महामन्त्री भूपेन्द्र राई चुनावी गठबन्धनबाट साझा उम्मेदवार छन् । पासाङ र वीरबलकाजी बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा तथा भूपेन्द्र सोही नगरपालिकाको वडा नं ६ नेर्पामा छन् । 

केन्द्रमा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) र एमालेका नेता खोटाङमा भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । जसपाबाट केन्द्रीय सदस्य प्रतिनिधि सभाका लागि डा कृष्णकुमार राई ‘केके’ तथा प्रदेशसभा (क)मा केन्द्रीय सदस्य राकेश राई र प्रदेशसभा (ख)मा प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । 

एमालेबाट पोलिटब्यूरो सदस्य विशाल भट्टराई प्रतिनिधि सभा तथा प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ प्रदेशसभा (क) र जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले प्रदेशसभा (ख)मा उम्मेदवारी दिनुभएको छ । एमालेबाट उम्मेदवारी दिए तीनैजना नेता अहिले मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिएर विजयी गराउन अनुरोध गरिरहेका छन् । 

जसपाका उम्मेदवार पनि अहिले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई रिझाउन दिनरात नभनी गाउँगाउँमा डुलिरहेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाअनुसार खोटाङमा जसपा पाँचौँ दल हो । जिल्लाका अन्य साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घर–घरमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा सदस्यका लागि एकमात्र उम्मेदवार सर्जु श्रेष्ठलाई अगाडि सारेको छ । 

यस्तै नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क)मा केशव राई र प्रदेशसभा (ख)मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा (क)मा प्रयाग राई र प्रदेशसभा (ख)मा विमला राईले उम्मेदवारी दिएकी छन् । 

यस्तै आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । निर्वाचन आयोगको तथ्याङ्कानुसार छ पालिका प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको कांग्रेस जिल्लामा पहिलो तथा दुई पालिका प्रमुख, दुई उपप्रमुख र २४ वडाध्यक्ष जितेको माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । 

भर्खरै स्थापना भएको एकीकृत समाजवादीले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले खोटाङ जिल्लामा दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा तेस्रो भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ