- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु आजबाट शुरु भएका छन् । पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया पराजित भएको छ । अष्ट्रेलिया साविक उपविजेता न्यूजिल्याण्डसँग ८९ रनले पराजित भएको हो ।
सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा दुई सय रन बनायो । प्लेयर अफ द म्याच डेभोन कन्भेले ५८ बलमा अविजित रहँदै ९२ रन बनाए । उनले थप दुई क्याचसमेत लिए । त्यस्तै ओपनर फिन एलिनले १६ बलमा ४२ रन बनाए । जेम्स निशमले १३ बलमा अविजित रहँदै २६ रन बनाए ।
जोश हाज्लेवुडले २ विकेटले लिए । जवाफमा घरेलु टिमले १७.१ ओभरमा अलआउट हुँदै १११ रनमात्र बनाउन सक्यो । ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाएको इनिङ्समा ५ खेलाडीलेमात्र दोहोरो स्कोर बनाएका थिए ।
टिम साउथी र मिचेल सान्टनरले समान ३–३ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्डले २ विकेट लिए ।
आजको अर्को खेलमा पूर्व च्याम्पियन इङ्गल्याण्ड र अफगानस्तानबीचको खेल हुँदैछ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दैछ ।
दोस्रो राउण्ड (सुपर १२) मा समूह एकमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अफगानिस्तान, इङ्गल्याण्ड तथा पहिलो राउण्ड समूह ए विजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह बी को उपविजेताको रुपमा आयरल्याण्ड रहेका छन् ।
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह बी को विजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह ए को उपविजेताको रुपमा नेदरल्याण्ड्स रहेका छन् ।
यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।