arrow

संविधान र व्यवस्था बचाउन गठबन्धन : कांग्रेस नेता बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
Guru baral.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले संविधान र व्यवस्था बचाउन गठबन्धनले मंसिर ४ को निर्वाचन बचाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिद्वारा आयोजित प्रथम महानगर सम्मेलन शुभारम्भ गर्दै उनले मुलुकको समृद्धि र स्थायित्वका साथै राजनीतिक स्थिरताका लागि पनि मंसिर ४ मा गठबन्धनका उम्मेद्वारलाई जिताउनुपर्नेमा जोड दिए । 

विगतमा दुई तिहाइ बहुमत प्राप्त सरकारले संविधान फ्याक्न, व्यवस्था मास्न उद्धत भएको राजनीतिक ज्यादति भएपछि निर्माण भएको गठवन्धनले राजनीति स्थिरता दिएको, संविधानको संरक्षण गरेको र देशी विदेशीको विश्वास प्राप्त गर्दै गएको उनले बताए । 

“राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आवद्ध दललाई जिताउन आवश्यक छ”, उनले भने । नेता बरालले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनताले भनेजसरी मुलुक विकास नहुनुको प्रमुख कारण ओलीको तानाशाही प्रवृत्ति भएको बताए । पाँच वर्षमा धेरै केही काम गर्न नसके पनि एउटा महत्वपूर्ण काम भने गरेको उनले उल्लेख गरे । उनले भने, ‘ओलीराज र उनको तानाशाहले संविधान च्यात्ने र मास्ने काम गरिरहेको थियो, त्यसलाई बचाउन दलहरू मिलेर गठबन्धन बनायौँ, यही गठबन्धनले संविधान जोगाउन सफल भएको छ ।’

अब टिकट र पार्टीभित्रको आन्तरिक समस्यामा बहस छाडेर उम्मेद्वारलाई जिताउन आवश्यक रहेको उनले बताए । सभापति शर्माले भने, ‘पार्टी भित्रको समस्याका विषयमा निर्वाचन पछि छलफल गरौंला । तर यो समय भनेको पार्टी र गठवन्धनका उम्मेद्वारलाई जिताउने गरि निर्वाचनमा खटिन आवश्यक छ ।’

नेपाली कांग्रेस कास्कीका निवर्तमान सभपाति कृष्ण केसीले पार्टीभित्रका तितामीठा बहसलाई थाति राखेर गठवन्धनका उम्मेद्वारलाई जिताउन लाग्नुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा नेपाली कांग्रेसकी प्रदेश महामन्त्री कोपिला रानाभाट, संविधानसभा सदस्य वृन्दा राना, पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारी, सहसचिव शंकर ढुंगाना, पार्टीका क्षेत्रीय सभापति केशव निर्दोषी, महानगरका निवर्तमान सभापति बजिरमान श्रेष्ठ, नेता विन्दुकुमार थापा, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल लगायतले कार्यक्रममा बोलेका थिए । 

नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्र विजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं उपसभापति भवसागर बरालले स्वागत र सचिव टुवराज बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ