arrow

उम्मेद्वारका बहस छाडौं, जिताउन लागौं : कांग्रेस नेता केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
Krishna kc.jpg
फाइल तस्वीर

पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण केसीले उम्मेद्वारका सम्बन्धमा बहस भन्दा कांग्रेससहितको गठवन्धनका उम्मेद्वारलाई जिताउन केन्द्रित हुन आग्रह गरेका छन् । नेपाली कांग्रेस पोखरा महानगर समितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा नेता केसीले यस्तो बताएका हुन् ।

उनले भने, ‘टिकट कस्ले पायो, कसरी पायो भन्ने बहस छोडौं । जसले पाए पनि पार्टीले दिएको हो । अब उम्मेद्वार र टिकटको बहस अन्त्य गरि उम्मेद्वारलाई जिताउन लाग्न आवश्यक छ ।’

निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले नपायो त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उनले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गरे । 

उनले पार्टीभित्रका विकृति र विसंगतिका बारेमा निर्वाचन पछि मात्रै बहस गर्न आवश्यक रहेको बताए । पार्टीको केन्द्रीय समितिद्वारा नै गठवन्धन गर्ने निर्णय भएको भन्दै कास्की कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका केसीले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे । 

‘यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित हुन्छ भन्ने विश्वास छ’, उनले भने, ‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।’

नेपालमा विसं २००७ देखिका विभिन्न परिवर्तन हुँदै गणतन्त्र, समावेशी लोकतन्त्र जस्ता उपलब्धि हासिल भएको भन्दै उनले समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ