arrow

व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : उपसभापति गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
dhanraj_.jpg
फाइल तस्वीर

वालिङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा व्यवस्था बदलिए पनि प्रवृत्ति नबदलिएको बताएका छन् । उनले व्यवस्था परिवर्तन भए पनि अवस्था पुरानै र परिवर्तन हुन नसकिरहेको अवस्थामा अब भ्रष्ट प्रवृत्तिको विरोध गरी प्रवृत्ति नै बदल्नु आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)ले आज वालिङमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारकै कारण देश समृद्धितर्फ जान नसकेको उल्लेख गर्दै अब सबै जना एकजुट भई जरो गाडेर रहेको भ्रष्टाचारको अन्त्यका लागि लाग्नुपर्ने बेला आएको धारणा राखे ।

“भ्रष्टाचारकै कारण देश अगाडि बढ्नुको सट्टा पछाडि-पछाडि धकेलिँदै छ”, उनले भने, “अब पनि यस्तो अवस्था रहिरहे समृद्धि सम्भव छैन, अगाडि होइन, पछाडितर्फ धकेलिन्छौँ ।”

देशको विकास गर्छु भन्नेहरू पहिला आफैँबाट सुध्रिनु आवश्यक रहेको गुरुङले बताए । अरुलाई सुधार्नुपूर्व आफैँ सुध्रिनु आवश्यक छ अनि बल्ल अरुलाई सुधार्न सहज हुने उनी बताउछन् ।

“नेतृत्व तहमा आउनेले जनताका अगाडि उभिएर एउटा सङ्कल्प गरौँ”, उनले भने, “सबै नेताको सम्पत्ति छानविन गरौँ र त्यसको सुरुआत धनराज गुरुङबाट गर्नुहोस् भनेर म पटक-पटक बोलेको छु ।” 

उपसभापति गुरुङ नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसका  उपसभापति गुरुङ र नेकपा (एमाले) केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्यालले कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेका छन् ।



नयाँ