- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । गत शनिबारदेखि भर्चुअल माध्यमबाट भए पनि सार्वजनिक गर्ने कार्यक्रम गर्ने भनिएको थियो ।
तर अब भने भर्चुअल माध्यमबाट नभई हार्ड कपि नै जनमानसमा पुर्याउने गरी तयारी भइरहेको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनले चाडबाडका कारण सबै आ–आफ्नै काममा व्यस्त हुने भएकाले सम्बन्धित मतदातासम्म पुग्न नसक्ने चिन्ताका कारण केही दिन अलमल भएको बताए ।
उनले भने, ‘केही दिन ढिला होस् तर राम्रोसँग सबैमा पुगोस् भन्ने चाहना हो । हामीले राम्रोसँग नै फाइनल गरेर संकल्प पत्र ल्याउने तयारी गरिरहेका छौं ।’
यसअघि गत शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक गरिने जनाइएको थियो । महामन्त्री विश्वप्रकाश शर्माले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका थिए । उनले आफ्नो निर्वाचन क्षेत्र झापाबाटै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका थिए ।
शनिबार सरेको कार्यक्रम आइतबारलाई र आइतबार सरेको कार्यक्रम आज बिहान १०ः३० बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो ।
तर अब भने पूर्णरुपमा नै उक्त घोषणापत्र ल्याउने गरी तयारी भइरहेको सहमहामन्त्री परियारले बताए । उनले भने, ‘तिहार लगत्तै सार्वजनिक गर्छौं ।’
कांग्रेसले शर्माको संयोजकत्वमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको थियो । महामन्त्री शर्माको संयोजकत्वमा गठित उक्त समितिमा ६ सहमहामन्त्री, ७ केन्द्रीय सदस्य लगायत विभिन्न विधाका जानकारहरु समेटेर बनाइएको थियो ।
शर्माले यसअघि पार्टीको घोषणा पत्रमा विश्वास गर्न सकिने संकल्प र अठोटलाई प्रधान बनाउने बताएका थिए । शर्माले कांग्रेसको घोषणा पत्रमा सस्तो लोकप्रियताले स्थान नपाउने स्पष्ट पारेका थिए ।
यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र भने अर्का महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा तयार भएको थियो ।