- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले आज घोषणा पत्र सार्वजनिक गर्दैछ । निर्वाचन घोषणा पत्र बिना नै मत माग्न शुरु गरेको सत्ता गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेसको घोषणा पत्र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।
बिहान १० बजे पार्टी मुख्यालय वीपीनगर सानेपामा सार्वजनिक हुने घोषणा पत्र सार्वजनिक कार्यक्रममा पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु लगायत काठमाडौं उपत्यकामा उपलब्ध नेताहरु सरिक हुने जनाइएको छ ।
ढिला गरी कांग्रेसले सार्वजनिक गर्न लागेको घोषणा पत्रलाई विशेष अभिरुचीका साथ प्रतिक्षा गरिएको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको जनाइएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले घोषणा पत्र तयार गरेको हो । ‘निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए ।
तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएको हो । यसअघि स्थानीय तहको निर्वाचनको घोषणा पत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसको घोषणा पत्र हेरेर त्यसलाई काउन्टर दिने गरी थपघट गर्नका लागि एमालेले कांग्रेसले घोषणापत्र जारी गरेपछि मात्रै सार्वजनिक गर्ने रणनीति बनाएको बुझिएको छ ।