arrow

चितवन छाडेर गोरखा आउनुमा कांग्रेस उम्मेदवार बजगाईको भूमिका रहेको प्रचण्डको खुलासा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
rajendra-bajgai-prachanda.jpg

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईको भूमिकाका कारण आफू चुनाव लड्न चितवनबाट गोरखा आएको खुलासा गरेका छन् ।

चुनावी अभियानका क्रममा गोरखाको क्षेत्र नम्बर १ मा पर्ने आरुघाटमा स्थानीयसँगको भेटघाटका क्रममा प्रचण्डले सो क्षेत्रका सत्ताधारी गठबन्धनका उम्मेदवारसमेत रहेका बजगाईका कारण चितवन छाडेर गोरखाबाट चुनाव लड्न आएको बताएका हुन् । 

बजगाईको क्षेत्रमा अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेपछि यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । आफ्नो नाम गोरखा १ बाट सिफारिस भएपछि गठबन्धन दलका तर्फबाट कांग्रेसका बजगाईले सकारात्मक भूमिका खेलेको बताउँदै प्रचण्डले पार्टीकै नेता कार्यकर्ताको सल्लाहमा पछि आफू क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकोसमेत बताए ।

आफू गोरखा २ बाट उम्मेदवार बने पनि समग्र गोरखाको विकासको जिम्मा आफूले लिने बताउँदै उनले त्यसका लागि दुवै क्षेत्रमा गठबन्धनका दलका उम्मेदवारले जित्नुपर्ने सर्त रहेको बताए ।

प्रचण्डले जनयुद्ध शुरु गर्नु पूर्व आरुघाटमा ३ वर्ष अध्यापन गरेका क्षणहरु सम्झिँदै आरुघाट र आरुटार आउँदा गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुने गरेको बताए ।

उनले गठबन्धनलाई कुनै शंका नगरी मतदान गर्न कार्यकर्तालाई आह्वान गर्दै गोरखा २ मा घरदैलोसमेत शुरु गरेका छन् ।

दुई दिन गोरखामा रहेर उनले घरदैलो कार्यक्रम गर्नेछन् । 



नयाँ