arrow
ADVERTISEMENT

वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
kp-oli-ghosanapatra.jpg

काठमाडौं ।  नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पुर्‍याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ ।

आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै एमालेले गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पुर्‍याउने नीति लिएको हो । नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको एमालेले विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

 ‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ भन्ने नाराका साथ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गरिने एमालेको योजना छ । ‘पर्यटन सेवाको विस्तार गरिने छ । नेपाली कूटनीतिक नियोगलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरी पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने छ’, घोषणापत्रमा भनिएको छ ।

पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनुका साथै प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गर्ने एमालेको नीति छ । त्यसैगरी सेवा उद्योगको विकास र विस्तारमा तीव्रता ल्याई होटल, रेस्टुरेण्ट एवं हवाई सेवालगायत पर्यटन पूर्वाधार निर्माणलाई गतिशील बनाउने योजना रहेको छ ।

जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिजमलाई प्रवर्द्धन गरिनुका साथै नेपाली चलचित्रको प्रवद्र्धन, विकास र विस्तार गर्ने योजना बनाएको एमालेले सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने घोषणपत्रमा प्रतिबद्धता जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ