- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै थालनी हुने बताएका छन् । बुधवार मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे ।
'म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो', प्रचण्डले भने, 'यो पार्टी पुनः निर्माणको अभियान पनि हो ।'
मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे । 'हामीले महाधिवेशनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ', उनले भने, 'नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।' निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो ।
मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए ।
आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उनले बूढीगण्डकी परियोजना तथा उत्तर दक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताए ।
आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए । 'संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ', प्रचण्डले भने, 'अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ । यी दुई गठबन्धन आमनेसामने छन् । मङ्सिर ४ गते जनताले फैसला गर्नेछन् ।'