arrow

विनोद चौधरीले थाले सुस्ता डुबान समस्याको समाधान गर्न कुटनीतिक पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
binod-chaudhary-2079-07-18b.jpg
तस्बिर – घरदैलो अभियानका क्रममा विनोद चौधरी ।

काठमाडौं । राष्ट्रिय समस्याको रुपमा स्थापित नवलपरासीको सुस्तामा प्रत्येक वर्ष दोहोरिने बाढी र डुबानको समस्या समाधान गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले कुटनीतिक पहल अगाडि बढाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता, प्रतापपुरलगायत देखिएको बाढी तथा डुबानको समस्यालाई भारतसँग अनौपचारिक रुपमा छलफल तथा  कुटनीतिक पहलबाट समस्या समाधान गर्न पहल अगाडि बढाएको बताए । 

मतदाता माझ पुगेका अर्बपति उद्योगपति चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुबानको दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडि बढाएका छन् । बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । 

अझ यस क्षेत्रमा बर्सेनि समस्याको रुपमा देखिएको बाढी तथा ढुबानको समस्यालाई समाधान गर्न दीर्घकालीन सिँचाई योजना अगाडि बढाउनुपर्ने एजेण्डा अघि बढाएपछि आममतदाता चौधरीप्रति आशावादी बनेको देखिन्छ । 

यस बारेमासमेत चौधरीले भारतस्थित जलस्रोत सम्बन्धी निकायसँग परामर्श गरी नारायणी नदीबाट वर्षौंदेखि हुँदै आएको डुबान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाएका छन् । 

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट मानिने चौधरीले विशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दीर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेशदेखि संघीय सरकारमा आफ्नो व्यक्तिगत र सरकारी स्तरमासमेत पहलकदमी अघि बढाएका छन् । 

यतिबेला राष्ट्रिय राजनीतिमा चुनावी क्षेत्रमध्ये पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नं १ समेत निकै चर्चामा छ । विशेष गरी त्रिबेणी छोटी भन्सार कार्यालयबाट दिइने सेवा विस्तार, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व पश्चिम राजमार्ग बुटवल–नारायणगढ सडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तीव्रता लगायतका काममा नेता चौधरीले थालेको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशील भएको पाइन्छ । 

यस अगावै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्रसहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापमा भारतीय क्षेत्र देखिएका कारण बैंक तथा वित्तीय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने बैंकिङ लगानी तत्काल अगाडि बढाउन चौधरीले बैंक तथा वित्तीय संस्थाहरुमा पहल थालिसकेका छन् । 

चौधरीको सचिवालयका अनुसार चौधरीले यस क्षेत्रमा देखिएको युवा जनशक्तिलाई स्वारोजगारतर्फ उन्मुख गराउन हालैमात्र आफ्नो र आफ्नो परिवारको लगानी भएको सिजी पोलिटेक्निकको कार्यालय स्थापना भएपछि युवाको मन जित्न सफल भएका छन् । 

उनी हालका दिनमा निर्वाचनलाई लक्षित हुँदै प्रत्येक क्षेत्रको समस्या बुझ्न मतदाताका घर घरमा पुगेका छन् । उनी मतदाताका समस्या बुझ्न कहिले मोटरसाइकलमा त कहिले गाउँले ट्याक्टर र कहिले पैदलै हिँडेर घर घर चहारिरहेका हुन् । सँगसँगै उनले आफूलाई जिताएपछि गर्ने कामको योजना पनि बाँडिरहेका छन् । 

प्रचार प्रसारकै क्रममा उनले तत्कालै गर्न सकिने विभिन्न समस्याको समाधानको पहलसमेत गरिरहेको उनको सचिवालयले जनाएको छ । चौधरीले यस क्षेत्रमा देखिएको केरा उत्पादनको बजारीकारणमा देखिएको समस्या समाधान गर्न हालैमात्र केराजन्य उत्पादनका लागि उद्योग स्थापनाको काम थालिसकेका छन् । 

चौधरीले मतदाता सामु बोलेका कुरालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न लागेका छोटो समयमा मतदाताले देख्न पाएपछि आम मतदातामा चौधरीको लोकप्रियता झन् बढ्दै गएको विश्लेषण भइरहेको छ । 

त्यस्तै लामो समयदेखि देखिएको उखु किसानको भुक्तानीको समस्या समाधान गर्न उद्योगी व्यवसायीमार्फत पहलकदमी शुरु गरिसकेको उनले बताएका छन् । अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ ।

उनले भने, ‘विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हुँ । एउटा विनोद चौधरी मात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो ।’

चौधरी प्रतिनिधि सभाको निर्वाचनमा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धामा छन् । यसअघि यो क्षेत्रमा त्रिपाठी निर्वाचित भएका थिए । उनले नेकपा एमालेको चिन्हबाट उम्मेदवारी दिएका छन् । यसअघि पनि उनले एमालेकै चुनाव चिन्ह लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ