arrow

प्रदीप यादव हराउने एमाले फ्याक्टर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
uml-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। पूर्व वन मन्त्री प्रदीप यादव उम्मेदवार रहेको पर्सा-१ मा नेकपा एमालेको असन्तुष्टि निकै चरम बनेको छ। पर्सामा जसपा सँग तालमेल गरेको भन्दै नेकपा एमालेका ५४२ जना पार्टी परित्यागको घोषणा गरे। 

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले त्यहाँका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेपछि नेकपा एमालेलाई ठूलो क्षति भयो नै यससँगै जसपाका उम्मेदवार प्रदीप यादवलाई समेत ठूलो धक्का लागेको छ। 

नेकपा एमालेको कट्टर आलोचक र मधेसमा जसपा सँग लडेर सङ्गठन बनाउने आफूहरूले त्यही जसपाका उम्मेदवारलाई नै मतदान गर्न नसकिने भन्दै नेकपा एमालेले प्रभावशाली नेताहरूले विद्रोह गरेका हुन्। नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा क्षेत्र नं १ का इन्चार्ज बाबुराम कौशिकका अनुसार पार्टीको निर्णयप्रति असन्तुष्ट नेता कार्यकर्ताहरूले जसपाका उम्मेदवार हराउन भूमिका खेल्ने बताइसकेका छन्। 

एमाले नेतृत्व जनउत्तरदायी हुनुको साटो जनभावना र पार्टीको मर्म विपरीत गएका कारण एमालेले समर्थन गरेका जसपा उम्मेदवारहरूलाई हराएर मात्रै आफूहरूको उद्देश्य पूरा हुने उनीहरूले बताएका छन्। ‘एउटा राष्ट्रियताको नारा लगाउने, अर्को मधेसको मसिहा बन्ने, जसपा र एमालेको गठबन्धन अपवित्र छ। तेल र पानीको सम्मिश्रण जस्तै हो’ उनीहरूले भने, ‘जसका कारण जनता, नेता, कार्यकर्ता मारमा परेका छन् । जन चाहना अनुसार स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा लागेका छौँ।’

उनीहरूले स्वतन्त्र उठेका अजय दुवेदीलाई समर्थन गर्ने पनि जनाएका छन्। यसरी पर्सामा एमालेले जसपाका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेपछि प्रदीपको पराजय करिब निश्चित नै बनेको छ। 

२०७४ को स्थानीय निर्वाचनमा जसपा पहिलो दल बनेको भए पनि प्रतिनिधि सभामा उक्त मत आउने सम्भावना निकै न्यून देखिएको छ। २०७४ को निर्वाचनमा विजयी भएका प्रदीप यादव पाँच वर्ष सांसद बने भने करिब एक वर्ष मन्त्री बने। उनलाई पर्सा-१ का मतदाताले जिताएर पठाए पनि उनले त्यहाँका जनताका लागि सम्झिने गरी कुनै काम गर्न नसकेको गुनासो तीव्र छ। 

प्रदीप यादवलाई युवा फेस भनिए पनि उनको विकल्पको रूपमा अजय दुवेदी आएपछि प्रदीप चिन्तित बनेका हुन्। अजयले पर्सा-१ का जनताको न्यायका लागि आफूले उम्मेदवारी दिएको बताइरहेका छन्। दुवै गठबन्धनतर्फको मत तान्ने आङ्कलन अजयको रहेको छ। जसका कारण प्रदीप डेन्जर जोनमा देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ