arrow

बन्यो टी–२० विश्वकपको सेमिफाइनल समीकरण, भारत शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
t20-india-2022-11-06.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा भारत विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । भारतले जिम्बाब्वेलाई ७१ रनले हराउँदै भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

भारतले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले १७.२ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि रायन ब्रुलले ३५ रन जोड्दा सिकन्दर राजाले ३४ रन बनाए ।

भारतका रविचन्द्र आश्विनले ३ तथा मोहमद शामी र हार्दिक पाण्डेयाले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । तुफान एक्सप्रेस सूर्यकुमार यादवले २५ बलमा अविजित रहँदै ६१ रन बनाए ।

यस्तै लोकेश राहुलले ३५ बलमा ५१, विराट कोहलीले २६, हार्दिक पाण्डेयाले १८ तथा कप्तान रोहित शर्माले १५ रन जोडे । जिम्बावेका सिन विलियम्सले २ विकेट लिए ।

जितसँगै भारतले समूह २ मा ५ खेलमा ८ अंकसहित शीर्ष स्थानमा रह्यो । पाकिस्तान ६ अंकसहित दोस्रो हुँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । 

अब सेमिफाइनलमा भारतले इङ्गल्याण्डसँग र न्यूजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ । समूह १ बाट न्यूजिल्याण्ड शीर्ष र इङ्गल्याण्ड दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो ।

पहिलो सेमिफाइनल बुधबार न्यूजिल्याण्ड र पाकिस्तानबीच हुनेछ । दोस्रो सेमिफाइनल बिहीबार भारत र इङ्गल्याण्डबीच भिडन्त हुनेछ । 

फाइनल खेल आगामी आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ