arrow

रसुवाको समृद्धि नै मेरो प्रमुख प्राथमिकता – मोहन आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
mohan-acharya-2079-07-21.jpg

रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर मोहन आचार्यले निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचन प्रचारप्रसारको क्रममा रसुवाका विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता आचार्यले कांग्रेस नेतृत्वमा बन्ने सरकारले विकास र समृद्धिलाई प्राथमिकता दिने बताए । 

कांग्रेस सरकारले ग्रामीण अर्थतन्त्रको विकासका लागि काम गर्ने भन्दै उनले यसले रोजगारी सृजनामा सघाउने बताए । रसुवाको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै उनले संविधानको रक्षा र देशको विकासका लागि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताए । 

समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनका लागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उनले बताए । 

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उनले उल्लेख गरे । अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताए । 

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उनले बताए । 

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताए । 

त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उनले बताए । भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकीकृत बस्ती निर्माण गरिएको बताए । 

कांग्रेसले जे बोल्छ त्यो पूरा गर्छ भन्दै उनले विगतमा केन्द्रमा आफ्नो सरकार नहुँदा आफूले सारेका धेरै योजनाहरू कार्यान्वयन हुन नसकेको र केन्द्रमा कांग्रेस नेतृत्वमा सरकार बन्नासाथै ती योजनाहरू कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए । 

उनले निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले घोषणापत्रमार्फत कांग्रेसले गरेका सबै प्रतिबद्धता क्रमशः पूरा गर्दै लैजाने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ