- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेसको प्रदेश १ समितिका उपसभापति रमेशजंग रायमाझीले मंसिर ४ को निर्वाचनपछि संघ र प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।
प्रदेश नम्बर १ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पूर्वी नेपालका जिल्लामा सक्रिय रायमाझीले कांग्रेस गठबन्धनको बहुमत पुग्ने भएकाले सबै क्षेत्रमा गठबन्धनकै सरकार बन्ने बताएका हुन् ।
चुनावी दौडकै शिलशिलामा विराटनगरमा उनीसँग प्रदेश नम्बर १ मा नेपाली कांग्रेस र गठबन्धनमा रहेका दलहरुको चुनावी अवस्थाबारे कुराकानी गरेका छौं ।
प्रदेश १ मा वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी माहोल कस्तो पाउनुभयो ?
मुख्य कुरो त यो पाँच दलीय गठबन्धन हामीले रहर र बाध्यताले बनाएका होइनौं । यो राष्ट्रिय आवश्यकता हो । केपी ओलीको दम्भ र राष्ट्रपतिको गैरजिम्मेवारीका कारण गठबन्धन बनाउनु पर्यो । चुनावी माहोल हेर्दा परिणाम गठबन्धनकै पक्षमा आउने देखिन्छ । सरकार गठबन्धनकै बन्ने देखिरहेको छु । भर्खर चुनावी माहोल तातिरहेको छ, गठबन्धनप्रति आकर्षण बढिरहेको छ ।
गठबन्धन त भन्दै हुनुहुन्छ तर कांग्रेसभित्र विवाद चुलिएको छ । अन्तरघातको खतरा देख्नुहुन्न ?
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौं । विद्रोह हुनु, असन्तुष्टि हुनु स्वभाविक होला तर पार्टीको अन्तिम निर्णय सबैले मान्नुपर्छ । केही व्यक्तिको अुसन्तुष्टि र स्वार्थ होला । तर मत हाल्ने बेलासम्म रुख चिन्ह वा गठबन्धनका पक्षमा मत हाल्न सक्ने अवस्थामा पुर्याउँछौं । अन्तिमसम्मका सबै समस्याहरुको समाधान गरेर गठबन्धनको पक्षमा परिणाम ल्याउँछौं ।
एउटा चुनाव लड्नुछ तर चुनावी घोषणा पत्र फरक फरक हुँदा मतदाता अन्योलमा परेनन् ?
गठबन्धन भनेको एउटै पार्टी होइन । गठबन्धनमा अलग अलग पार्टी छन् । उनीहरुका बेग्लाबेग्लै सिद्धान्त र विचार छन् । घोषणा पत्र फरक फरक आउनु कुनै आश्चर्य होइन । सैद्धान्तिक रुपमा हामी फरक फरक रहेकाले फरक घोषणा पत्र आएको हो ।
चुनाव जति नजिकिदैछ उत्ति नै गठबन्धनभित्रकै दलहरुमा विवाद देखिँदैछ । अझैसम्म विवाद साम्य पार्न सक्नुभएको छैन नि ?
यसका लागि प्रयास जारी छ । मान्छे हो स्वाभाव परिवर्तन गर्न सकिँदैन । हिजो सर्वसत्तावादले चलेका केपी ओली र एमालेको बहकाउमा साथै पैसाको प्रभावमा परेर कतिपय साथीहरु बागी बन्नुभएको छ । तर त्यसले हामीलाई खासै असर गर्दैन । मिलाउने प्रयास भने जारी राखेका छौं ।
पाँचदलीय गठबन्धन गर्नुको उद्देश्य के हो ? चुनाव लडन एमालेसँग डराउनु भएको हो ?
हामी एमालेसँग डराएका होइनौं । यो राष्ट्रिय आवश्यकता हो । हिजो एमालेसँगै चुनाव लडेर बहुमतको सरकार बनाएका हौं । एमालेको सरकार त नौ महिनामै गएको इतिहास हामीसँग साक्षी छैन र । तर हामी हाम्रा पाटनरलाई संकटको बेलामा, संविधान बचाउने बेलामा सांसदहरुले जुन भूमिका निर्वाह गरिदिनुभयो उहाँहरुलई छाडेर जान नैतिकताले दिंदैन । राजनीतिक रुपमा हाम्रा आफ्नै सिद्धान्त होलान तर नैतिकताका विषयमा गम्भीर हुनुपर्छ । गठबन्धन कायम रहनु नैतिकताको कुरा हो । कांग्रेसको प्रतिबद्धता हो । अर्को कुरा जसपा ठूलो भाग खोज्न संविधान मिच्ने ओलीसँग टाँसिन जानुभयो, त्यस्तो गलत काम हामी गर्न सक्दैनौं । संविधान मिच्ने, राजतन्त्र बोक्ने पार्टीहरुसँग जसपा गयो यो गम्भीर कुरा हो ।
चुनावी दौरानमा धेरै नेताहरु भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत हुनुभएको छ । यो चुनावपछि प्रधानमन्त्री को होला ?
यस विषयमा गठबन्धनले निर्णय गर्छ । कांग्रेसको संसदीय दलले निर्णय गर्छ । माननीयहरुले चयन गरेका दलका नेता प्रधानमन्त्री हुने व्यवस्था भएकाले पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने संभावना देखेको छु । हरेक माननीयहरु वैकल्पिक प्रधानमन्त्रीका रुपमा लिन सकिन्छ ।
प्रदेश १ मा कांग्रेसको अवस्था कस्तो पाउनु भयो ?
प्रदेश र संघमा कांग्रेसको अवस्था बलियो छ । प्रत्येक प्रदेशमा कांग्रेसले बहुमत ल्याउँछ र सरकार बनाउँछ । पार्टीभित्रको आन्तरिक व्यवस्थापन र असन्तुष्टिहरु न्यूनिकरण गर्दै भोट हाल्ने दिनसम्म एकमुष्ट मतदान गर्ने अवस्था सिर्जना गर्छौं । संविधान रक्षाका लागि गठबन्धन साथै कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एकजुट हुनेछौं ।