arrow

अछामका दुवै निर्वाचन क्षेत्रमा चुनौती खेप्दै एमाले, गठबन्धन बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
accham-election-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अछाममा नेकपा एमालेलाई दुवै निर्वाचन क्षेत्रमा मुस्किलको स्थिति रहेको छ । अछाम १ मा नेकपा एमालेबाट झपटबहादुर बोहरा र गठबन्धनका लागि नेकपा एकीकृत समाजबादीका शेरबहादुर कुँवर प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा एवं स्वतन्त्रबाट राजन कुँवर, महेन्द्रबहादुर बोगटी र हिक्मत कुँवर पनि अछाम १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन् ।

०७४ को निर्वाचनमा अछाम १ बाट एमालेका पूर्व उपाध्यक्ष एवं पूर्व मन्त्री डा भीमबहादुर रावलले २४ हजार ८ सय ९३ मतसहित जित हात पारेका थिए भने कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६ सय ८९ मत पाएका थिए ।

एमालेका सशक्त नेताका रुपमा रहेका रावललाई यसपटक पार्टीले टिकट नदिँदा र गठबन्धन हुँदा अछाम १ मा एमाले पछि रहने देखिएको छ । स्थानीय तह निर्वाचनको मत हेर्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेससँग १६ हजार ७ सय २८, माओवादी केन्द्रसँग ६ हजार ७ सय ९० र नेकपा एकीकृत समाजवादीसँग २ हजार ७ सय ५२ मत रहेको छ ।

नेकपा एमालेसँग भने १६ हजार ९ सय ९४ मत रहेको छ । गठबन्धनको मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरलाई जितका लागि सहज हुने देखिन्छ भने एमालेका झपटबहादुर बोहरालाई बढी चुनौती रहनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काखापाखा गर्दाकाे परिणाम भीम रावलले भाेगिरहेका छन् भने त्यसको असर बाेहराले बेहाेर्ने बुझ्न सकिन्छ । एमालेले पक्का क्षेत्र बिगारेको आरोप छ । 

अछाम २
यसपटक पनि ०७४ कै प्रतिद्धन्द्धी नेकपा एमालेका यज्ञबहादुर बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच प्रतिस्पर्धा हुँदैछ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाही र स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगाना पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका बोगटीले २१ हजार ९ सयय ६५ मत सहित जित हात पारेका थिए भने कांग्रेसका शाहले १९ हजार १ सय ६ मत पाएका थिए । 

यसपटक स्थानीय तहको मत हेर्ने हो भने अछाम २ मा कांग्रेससँग १९ हजार ३ सय ३९, माओवादी केन्द्रसँग ६ हजार ४ सय ४१ र नेकपा एकीकृत समाजवादीसँग २ हजार १ सय ७५ मत रहेको छ । 

एमालेसँग १७ हजार ९ सय ८७ मत रहेको छ । यसरी गठबन्धन विरुद्धको प्रतिस्पर्धामा एमालेलाई अछाम २ पनि चुनौती नै रहेको देखिन्छ भने कांग्रेस उम्मेदवार शाहीले यसपटक ०७४ को हारको बदला लिने सम्भावना देखिएको छ ।



नयाँ