- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालगन्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको महानायक राजेश हमालले बताएका छन् । नेपालगन्ज म्याराथनबारे शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हमालले गत वर्ष आफू नेपालगन्ज म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको बताएका छन् ।
उनले प्रतियोगीताले शहर र देशलाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताएका छन् । सोही अवसरमा एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई हस्तान्तरण गरेका थिए ।
नेपालगन्ज म्याराथन ऐम्सबाट रुट प्रमाणित र ऐम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो । त्यसैको जानकारी दिने उद्देश्यले आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागि आफूहरु त्यार रहेको बताए ।
नेपालगन्ज म्याराथनका संरक्षक सदस्य रघुराज वन्तको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताएका थिए ।
नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए ।
नेपालबाट नेपालगन्ज म्याराथनले एम्सबाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सूचीकृत भएको छ ।
हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ ।
हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएको आयोजकले जनाएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।
यस वर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) ले प्रमाणीकरण गरेको छ ।
गत वर्ष झैं यस वर्ष पनि विभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिने भएको छ । कर्पोरेटतर्फ महिला यस वर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समूह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, विभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिने छ ।
केही नगद पुरस्कार राशीमा वृद्धि गरिने र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ ।