arrow

संविधानको रक्षा र मुलुकको दिगो विकासका लागि गठबन्धनः शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
shukra raj sharmaa.jpg

स्याङ्जा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संविधानको रक्षा र मुलुकको दीगो विकासका लागि लोकतान्त्रिक बाम-गठबन्धन बनेको बताए ।  

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति शर्माले प्रतिगमन र भ्रष्टाचारी स्वरुप देखिएपछि त्यसका विरुद्धमा गठबन्धन जन्मन बाध्य भएको सुनाए । गठबन्धनका निर्णय मानेर निर्वाचनमा जुट्नसमेत उनले निर्देशन दिए ।

दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनअपेक्षित काम नसकेपछि लोकतान्त्रिक-बाम गठबन्धनले सरकार संचालन गरेको उनले बताए । मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनसंगै विकासका लागि गठबन्धनलाई विजयी गराउनसमेत उनको आग्रह छ ।

मुलुकको विकास र समृद्धिका लागि साझा संकल्पसहित लोकतान्त्रिक गठबन्धन अघि बढेको उनले बताए । लोकतन्त्रवादी र बामपन्थीले आआफ्ना क्षेत्रगत उम्मेदवारका चुनाव चिन्हमा इमान्दारिता पूर्वक मतदान गर्दै गठबन्धनको उदेश्य पुरा गर्र्न उनले आग्रह गरे ।

‘कांग्रेसले ल्याएको नयां संकल्पमध्ये ३/७३ ले सबै हितमा रहेको छ’, उनले भने, ‘तीन बर्ष मुनिका र ७३ बर्ष माथिका सबैका लागि निःशुल्क स्वास्थ्य सेवा अतिउत्तम संकल्प हो ।’

उनले भने, ‘सबैभन्दा बढी खर्च स्वास्थ्योपचारमा हुन्छ । जीवनभर कमाएको आर्जन स्वास्थ्य बिग्रीयो भने क्षणभरमै सकिन्छ ।

तसर्थ कांग्रेसको उदार नीति बमोजिम यस्ता शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य, आवास, पर्यटन लगायका विविध संकल्प रहेका छन् । तिनीहरुलाई घरघरमा पुर्याएर जानकारी गराउनु हामी सबै कार्यकर्ताको दायित्व हो ।’

सिंहदरवारमा पुगेका ब्यक्ति धनी हुने र जनता जस्ताको तस्तै रहने प्रवृत्ति अन्त्य गर्दै निर्वाचित जनप्रतिनिधि मालिक होइन अब सेवक बनेर सिंहदरवार जानुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेता प्रदीप पौडेलले मुलुकमा लोकतान्त्रिक गठबन्धनको आवश्यकता अझै रहेकाले आफ्नो उम्मेदवारी निस्क्रिय पारी गठबन्धनका पक्षमा आएको बताए । 

कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, सचिव दामोदार लम्साल लगायतले चुनावी अभियानका बारेमा जानकारी गराएका थिए ।



नयाँ