arrow

ग्लोबल आइएमई र बीओकेबीच मर्जमा अन्तिम हस्ताक्षर, ५७ अर्ब कूल पुँजीसहित मुलुककै ठूलो बैङ्क बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
global-ime-bok-merger-2022-2079.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेडबिच एक आपसमा गाभ्नको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैङ्क अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यस अघि ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेडबिच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ दुवै बैङ्कका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जर पश्चात् बैङ्कको कूल पुँजी रु.५७ अर्ब, चुक्ता पुँजी रु.३५.७७ अर्ब, कूल निक्षेप रु.४०० अर्ब, कूल कर्जा रु.३७९ अर्ब भन्दा बढी पुग्नेछ। मर्जर पछि बन्ने नयाँ बैङ्क कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैङ्क बन्ने जनाएको छ।

नयाँ बैङ्कको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैङ्क अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन्। त्यसै गरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेछन्।

२१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

साथै, दुवै बैङ्कले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन्। दुई बैङ्कहरूको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैङ्क हुने छ।

दुवै बैङ्कहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैङ्कको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने विश्वास बैङ्कले लिएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैङ्कका सञ्चालक समितिका अध्यक्षहरूले बैङ्कले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, शेयर धनी, बैङ्कसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैङ्कले कार्य सम्पादन गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आइएमई बैङ्कका अध्यक्ष ढकालले मुलुकको आवश्यकता अनुसार बैङ्किङ क्षेत्रको विकास हुने बताउँदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्‍याउन र बैङ्किङ लागत घटाउन ठूला र सबल बैङ्कको आवश्यकता रहने र मर्जरपछि बन्ने बैङ्कले त्यसको सम्बोधन गर्ने बताए।

ग्लोबल आइएमई बैङ्क नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै उनले तद अनुरूप यो मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए।

उनले मर्जरपछि बन्ने नयाँ बैङ्क ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैङ्क बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

मर्जरपछि बन्ने नयाँ बैङ्क सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैङ्कको हितमा काम गर्दै जाँदा बैङ्क अहिलेको अवस्थामा पुगेको बताए।

बैङ्क अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धि बैङ्क तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहने बताए।

“मुलुकको आर्थिक रूपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैङ्कको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,” उनले भने।

उनले मर्जरपछि बन्ने नयाँ बैङ्कले नेपालको बैङ्किङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे।

साथै, उक्त कार्यक्रममा दुवै बैङ्कका अध्यक्षहरूले गाभ्ने/गाभिने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्कका सञ्चालकहरू, शेयर धनी, कर्मचारी वर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गरेका छन्।

संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैङ्कका लगानीकर्ता, कर्मचारी तथा समग्र बैङ्कलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैङ्कले मात्र सक्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ