arrow

अमेरिकालाई नेपाली विद्यार्थीले एक वर्षमा बुझाए साढे ३८ करोड डलर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
US-dollar.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ । उनीहरुले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१–२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आईआई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१–२२’ मा खुलासा गरिएको हो । 

हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१–२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) अमेरिकी अर्थतन्त्रमा योगदान गरेको उल्लेख छ । 

रिपोर्ट अनुसार उक्त वर्ष ११ हजार ७९९ जना नेपाली विद्यार्थी अमेरिकाका विभिन्न सहरमा अध्ययनरत थिए । ती विद्यार्थीले ५० अर्ब रुपैयाँ बरारबको शैक्षिक शुल्क अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजलाई बुझाएका हुन् । 

आर्थिक वर्ष २०२१–२२ मा कुल ९ लाख ४८ हजार ५१९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । शैक्षिक शुल्क वापत ती विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर प्राप्त गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।  

गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले उठाएको कुल रकमको १.२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीले बुझाएका थिए ।  

अमेरिकामा गत वर्ष अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचीमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ५।६ प्रतिशतले वृद्धि भएको रिपोर्टमा जनाइएको छ ।

अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा क्रमसः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, साउदी अरेबिया, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापान र नेपालका रहेका छन् । 

ओपन डोर्स रिपोर्ट–२०२१–२२ अनुसार आर्थिक वर्ष २०१२–१३ मा ८ हजार ९२०, २०१३–१४ मा ८ हजार १५५, २०१४–१५ मा ८ हजार १५८, २०१५–१६ मा ९ हजार ६६२, २०१६–१७ मा ११ हजार ६०७, २०१७–१८ मा १३ हजार २७०, २०१८–१९ मा १३ हजार २२९, २०१९–२० मा १२ हजार ७३० र २०२०–२१ मा ११ हजार १७२ जना नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ