- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । देशभरबाट मतगणनाको नतिजा आइरहेका बेला स्याङ्जा संघीय निर्वाचन क्षेत्र २ मा भने मतगणना प्रक्रिया अझै शुरु हुन सकेको छैन । दुई ठूला पाटी नेपाली कांग्रेस र नेकपा एमालेको मतगणनामा विवाद देखिएपछि मतगणना हुन नसकेको हो ।
नेकपा एमालेले बुथ कब्जा गरिएको भन्दै त्यस्ता मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ भने सत्ता गठबन्धनले उत्साहपूर्वक मतदाताले मतदान गरेकोले मतगणना शुरु गर्नुपर्छ भन्ने अडानले मतगणनामा समस्या आएको छ ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सामान्य घटना भए पनि शान्तिपूर्ण रुपले मतदान प्रक्रिया सकिएको छ । मतदान प्रक्रियासँगै मतपरिणामको प्रतिक्षामा स्याङ्जा क्षेत्र नम्बर २ का नागरिकहरु बसेका छन् ।
तर मतगणना हुन्छ या पुनः मतदान हुन्छ भन्ने अन्योल कायमै छ । स्याङ्जा संघीय निर्वाचन क्षेत्र नम्बर २ को मतगणना प्रक्रिया शुरु गर्न भन्दै नेपाली कांग्रेससहित गठबन्धनले निर्वाचन कार्यालयमा धर्ना दिएको छ भने नेकपा एमाले केही मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप लगाउँदै पुनः मतदानको माग राखेर आन्दोलनमा छ ।
२०७४ को निर्वाचनमा पनि मतगणनामा समस्या देखिएको यो क्षेत्रमा पुनः २०७९ मा पनि समस्या देखिएको छ । सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि अहिलेसम्म पनि निर्वाचन कार्यालयले मतगणना प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
मतगणना प्रक्रिया अगाडि नबढाए पनि नेपाली कांग्रेस सहित गठबन्धनका दलहरुले मतगणना प्रक्रियालाई शुरु गर्न भन्दै निर्वाचन कार्यालय अगाडी बिहान ९ बजेदेखी धर्ना दिँदै बसेको छ । पुनः मतदान हुने काम भएमा नजिरका रुपमा बस्ने भन्दै प्रक्रियागत मतपेटीका आएकाले तुरुन्तै मतगणना शुरु गर्न नेपाली काँग्रेस सहित गठबन्धनदलले आग्रह गरेका छन् ।
नागरिकले उत्साहपूर्वक गरेको मतदानदानलाई हारको मानसिकता देखाएर मतगणनामा अवरुद्ध गर्न नहुने नेपाली कांग्रेसका कार्यबाहक सभापति केदार काफ्लेले बताए । पुनः मतदानको हामीले कल्पना पनि गरेका छैनौँ सभापति काफ्लेले भने, ‘निर्वाचनका क्रममा एमालेले बुथ कब्जा गर्न खोज्दा कांग्रेसका साथीहरु पनि घाइते भएका छन् ।’ त्यसैले विगतलाई समीक्षा गर्दै आगामी बाटोलाई राम्रो बनाउने लक्ष्यका साथ मतगणनामा ढिलाई गर्नु हुँदैन’ उनले भने ।
नेकपा एमालेले भने चापाकोटमा पुनः मतदान नभएमा मतगणना हुन नदिने बताएको छ । जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने हाम्रो माग हो भन्दै पुनः मतदानको हुनुपर्ने स्याङ्जा क्षेत्र नम्वर २ का प्रदेश (क) नेकपा एमालेका उम्मेदवार मोहोन रेग्मीले बताए ।
‘लोकतन्त्रमा सबैको अधिकार हुन्छ’, उनले भने, ‘विधि र प्रक्रिया विरुद्धको लडाई हो ।’ जबसम्म सो ठाउँका जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदैनन् मतगणना हँुदैन उनले भने ।
नेकपा एमालेले चापाकोट नगरपालिका ३ स्थित दिसिङ्कोट आधारभुत विद्यालय, ४ को राममन्दिर मावि, ५ को जनसक्रिय मावि र दिनदयालु आधारभुत विद्यालयमा बुथ कब्जा गरेको आरोप लगाएको छ ।
गठबन्धनले नागरिकले संविधान बमोजिम आत्मनिर्णयको अधिकारलाई मतपेटीकामा व्यक्त गरेकाले यसको नतिजा बाहिर ल्याउनुपर्ने जनाएको छ । मतगणना हुन्छ या मतदान हुन्छ भन्ने विषयमा निर्वाचन अधिकृतसँग बुझ्ने प्रयासमा निर्वाचन अधिकृतले भेट्न चाहेनन् ।
तर यस विषयमा निर्वाचन आयोगमा जानकारी पुगिसकेकाले निर्वाचन आयोगको पर्खाइमा रहेको स्याङ्जा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।
यो क्षेत्रबाट गठबन्धबाट नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालसहित १२ जना प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा छन् ।
हेभिवेट नेताहरु भएकाले प्रतिस्पर्धा निकै कडा देखिएको छ । मतदानको प्रक्रियागत त्रुटी हो वा होइन भन्ने विषयलाई निर्वाचन आयोगले ढिला नगरी नागरिकलाई छिटो सुचना दिनुपर्ने अवस्था देखिन्छ ।