- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर-५ टेनिस प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको संघले पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी गराएको छ ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेकोे प्रतियोगितामा सहभागी हुन विभिन्न १० देशका १०० भन्दा खेलाडीहरु पोखरा आइपुगेका छन् ।
सर्किट-१ र २ गरि दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गर्ल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागी हुनेछन् ।
पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगितामा चाईनिज ताईपेईबाट ५ जना, दक्षिण कोरीयाबाट १० जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना, जापानबाट ३ जना, श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ जना गरी ६४ जना खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
त्यसैगरी गर्ल्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रशियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरिकाबाट २ जना, दक्षिण कोरीयाबाट ६ जना, ताइपेबाट ३ जना, हङकङबाट १, अष्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी ६४ जना खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
संघ कास्कीका कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले पोखरामा यो प्रतियोगिता पाँचौ पटक आयोजना हुन लागेको भन्दै प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा अनुमानित कूल आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने अनुमान गरिएको बाँस्तोलाको भनाइ छ । पोखरा महानगरपालिकाले प्रवर्द्धककारुपमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रतियोगितामा सिंगल्सतर्फ विजेताले ३० पोईण्ट, रनरअपले १८ पोईण्ट, सेकेण्ड रनरअपले ९ पोईण्ट, क्वाटर फाईनलिष्टले ५ पोईण्ट र फस्ट राउण्ड जित्नेले २ पोईण्ट पाउनेछन् भने डवल्स प्रतियोगितातर्फ सिंगल्स प्रतियोगितामा पाउने पोईण्टको २५ प्रतिशत मात्र अर्थात विजेताले ७ पोईण्ट, रनरअपले ४.५ पोईण्ट, सेकेण्ड रनरअपले २.२५ पोईण्ट, क्वाटर फाईनलिष्टले १.२५ पोईण्ट पाउनेछन ।
पत्रकार सम्मेलनमा संघका सदस्य भिष्मराज पौडेलले पनि प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।