arrow

हारको झ्वाँकमा एमाले कार्यकर्ताले आफ्नै नेता कुटे, पार्टी कार्यालय तोडफोड

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ मंसिर ११ आइतबार
laxmipati-subedi-uml-syangja.jpg

स्याङ्जा । नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार राजु थापासँग एमाले उम्मेदवार नारायणप्रसाद मरासिनी हारेपछि अन्तरघात भएको भन्दै एमालेभित्र कुटपिट भएको हो । 

कुटपिटबाट एमाले जिल्ला कमिटी सदस्य तथा पुतलीबजार नगरपालिका वडा नं. १३ का इन्चार्ज लक्ष्मीपति सुवेदी घाइते भएका छन् । ४९ वर्षीय घाइते सुवेदीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ । सुवेदीको टाउकोमा २ वटा टाँका लगाइएको छ । स्थानीय मेडिकल र जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि सुवेदीको पोखरामा थप उपचार गरिएको छ । सुवेदीमाथि सांघातिक आक्रमण  हुँदा उनकी १८ वर्षीया छोरी विनिता सुवेदीसमेत घाइते भएकी छिन् । उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको स्थानीयले बताए । आक्रमणमा परेका बुबालाई जोगाउन जाँदा छोरीलाई चोट लागेको हो ।  

अन्तरघातको आरोपमा कुटिएका सुवेदीले मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । 

उजुरीपछि कुटपिटमा संलग्नको खोजीकार्य भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ । सुवेदीलाई कुटपिट गर्नुपूर्व युवाहरुले एमाले स्याङ्जाको पार्टी कार्यालय तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयका कुर्ची, टेबल र झ्यालका सिसाहरु फुटेको एमाले स्याङ्जाले जनाएको छ । 

एमाले स्याङ्जाभित्र नारायण मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप चलेको छ । मरासिनी पराजित भएसँगै अर्याल समर्थित क्षेत्र नं. १ का कार्यकर्ता त्रसित बनेका छन् । त्रसित केही स्थानीय नेताले सामाजिक सञ्जालमार्फत सुरक्षाको माग गरेका छन् । 

युवाहरुले फोनमार्फत आवश्यक परे भौतिक आक्रमण गर्ने भन्दै धम्क्याउने गरेको अर्याल समर्थित कार्यकर्ताले बताएका छन् । मरासिनीलाई अन्तरघात गर्नेहरुले चुनावको अघिल्लो रात लगेको पैसासमेत नबाँडेको आरोप लागेको छ । 

एमाले उम्मेदवार पद्मा अर्यालले कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाउँदै पुनल् मतदानको माग गरेका कारण स्याङ्जा निर्वाचन क्षेत्र २ को मतगणना अझै शुरु हुन सकेको छैन ।  

कांग्रेसले बुथ कब्जा नगरेको र कानूनी प्रक्रिया पूरा गरेर मतपेटिका आएकाले मतगणना गर्नुपर्ने अडान कायम राखेको छ । दुवै राजनीतिक दलको अडानका कारण निर्वाचन परिणाम अन्योलमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ