- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेका बेला एमाले महासचिव शङ्कर पोखरेलले आफूहरूलाई पाँच वर्ष प्रतिपक्षमा बस्न आदेश दिएको स्वीकार गरेका छन् । मत परिणाम अन्तिम चरणमा आइपुग्दा गठबन्धनका दलहरू सरकार गठनको तयारीमा जुटेपछि महासचिव पोखरेलले प्रतिपक्षमा बस्न एमाले तयार भएको बताएका हुन ।
पछिल्लो मत परिणामअनुसार गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस ठूलो बन्ने भएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दोस्रो दल बन्ने देखिएको छ । समानुपातिकतर्फको मत परिणामअनुसार एमाले पहिलो दल बनेको छ भने कांग्रेस दोस्रो स्थानमा छ । पछिल्लो मत परिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ५५ स्थानमा जित हासिल गरेको छ भने एमालेले ४४ स्थानमा जितेको छ ।
माओवादी केन्द्रले १७ स्थानमा जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० स्थानमा जितेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालले ७÷७ सिट जितेका छन् ।
एमालेले पनि सरकारको नेतृत्व गर्न सक्ने भए पनि अहिलेलाई कांग्रेस ठूलो दल भएकाले गठबन्धनको तर्फबाट कांग्रेसले नै सरकारको नेतृत्व गर्ने अवस्था छ । खास गरी एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी नेता जनार्दन शर्माले एमालेको नेतृत्वमा सरकार बनाउन र बाम गठबन्धन गर्ने बारेमा अनौपचारिक छलफल गरेको भए पनि नेकपा एसले गठबन्धनलाई नै समर्थन गरेपछि त्यो विषय त्यतिकै सेलाएको छ । तर पनि एमालेले अनौपचारिक रूपमा आफ्नो धारणा बाहिर ल्याइसकेको छैन ।
कांग्रेस नेता प्रकाशनमान सिंहले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको विषयलाई कांग्रेस-एमाले गठ जोडको कुरा पनि उठेको थियो । ओलीलाई बधाई दिनका लागि भेट गरेको भनिए पनि निर्वाचन लगत्तै कांग्रेस नेताले एमाले अध्यक्षलाई भेट गरेको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । तर एमाले महासचिव पोखरेल अहिले नै एमालेको नेतृत्वमा सरकार गठनको सम्भावना नरहे पनि विकल्पका रूपमा त्यो सम्भावनालाई नकार्न भने नसकिने बताए ।
यो निर्वाचनको मत परिणामले सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी दल एमाले कसैलाई स्पष्ट बहुमत नआएकाले सरकार गठनका लागि एमाले तीन वटा विकल्पमा जान सकिने उनको धारणा छ । पहिलो विकल्पका रूपमा दुई ठूला दलहरू बीचमा एक खाले सहमति गरेर जान सकिने, दोस्रो विकल्पका रूपमा बाम शक्तिबीच गठबन्धन बनाएर जान सकिने र तेस्रो विकल्पका रूपमा नयाँ उदाएका शक्तिहरूलाई लिएर जान सकिने महासचिव पोखरेलको धारणा छ ।
‘अहिलेको निर्वाचनबाट एमालेलाई प्रतिपक्षमा बस्न जनताले ‘म्याण्डेड’ दिएका छन् । त्यस कारण एमाले प्रतिपक्षमा बस्छ, अन्य दलहरूले सरकार बनाउँछन् तर एमाले विकल्पको रूपमा भने तयार छ’, महासचिव पोखरेलले भने । उनले नीतिगत रूपमा नेतृत्वको ‘म्याण्डेड’ नभए पनि अरू दलहरूले विकल्प दिन नसकेको अवस्थामा एमालेले आफ्नो जिम्मेवारी लिने पनि बताए ।
उनले आफूलाई वामपन्थी शक्ति भन्नेहरू नै एमालेका विरुद्ध मोर्चा बन्दी गरेर हिँडेकाले वाम सरकार तत्कालै बन्न नसक्ने पनि धारणा राखेका छन् । ‘वाम विकल्पलाई वामपन्थीहरूले नै अस्वीकार गरेर एमालेका विरुद्ध मोर्चा बन्दी गरेका जसले गर्दा एउटा इगो जस्तो पनि देखिएको छ’, महासचिव पोखरेलले भने ।