arrow

धनराज गुरुङको संसद्मा तेस्रो यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
dhanraj-gurung-profile.jpg

वालिङ। प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी हुनुभएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति छन्। विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएकी एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ हुन्। उनले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्।

विसं २०२२ मा स्याङ्जाको साबिक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रुपमा उनको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी भए । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति भए ।

विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गरेका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनमा नेविसङ्घकातर्फबाट प्रतिस्पर्धामा सहभागी भएका थिए । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिकारुपमा निर्वाचित भएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । विसं २०५३ मा नेविसङ्घको सभापति बनेका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गरेका थिए ।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद भएका थिए । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी भएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गरेका हुन् । पार्टीको १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी भए ।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताएका छन् । यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्मा यही विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

“विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो”, उनले भने, “मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु ।” निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिए बमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उनले गरे । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ