arrow

मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैङ्कको १६औँ वार्षिक साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
global-ime-16-agm--2022-2079.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैङ्कको १६औँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ।

साधारण सभाले ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा  सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।

साधारण सभाले ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड गाभ्ने-गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल-अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १-१ स्वीकृत गरेको छ।

ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रक्रिया पुरा भइसकेको छ।

साथै, साधारण सभाले बैकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैङ्कले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ। 

बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् बैङ्कको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैङ्कका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्क नेपाल सरकार एवं नेपाल राष्ट्र बैङ्कद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनी हरू लाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

उनले बैङ्कले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए।

यसका साथसाथै, अध्यक्ष ढकालले सेयर धनीको आकाङ्क्षा अनुरूप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैङ्क प्रयासरत रहेको समेत बताए।

आर्थिक वर्ष २०७८/७९ मा बैङ्कको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ। बैङ्कको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। हाल बैङ्कले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ। बैङ्कमा ३ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन्। बैङ्कले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ