arrow

नेपालगञ्ज म्याराथनको उपाधि खड्गले जिते, हाफ म्याराथन सन्तोषीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
nepaljung-marathoon.jpg

राँझा । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । 

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए ।  

उपाधि विजेता खड्काले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले रु रु ६० हजार र तेस्रो भएका जोशीले रु ३० हजार पुरस्कार प्राप्त गरे । 
 
यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै रु ६० हजार पुरस्कार प्राप्त गरिन् ।

यस्तै सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । 

दुवैजनाले क्रमशः रु ३० हजार र रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए । 

हरेक वर्ष मङ्सिर ५ गते आयोजना गरिँदै आएको म्याराथन यस वर्ष प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । 

प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ