- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । ‘१७ औं प्याब्सन स्पोर्टस् मिट’ को उपाधि टप्स माविले जितेको छ । निजी विद्यालयहरुको छाता संस्था (प्याब्सन) कास्कीद्वारा आयोजित प्याब्सन स्पोर्टस् मिटमा सर्वाधिक पदक जितेर टप्स च्याम्पियन हुँदै उपाधि जितेको हो । योसहित प्याब्सन स्पोर्टस् मिटमा लगातार ६ पटक च्याम्पियन हुँदै दोश्रो पटक ट्रफी माथि कब्जा जमाएको छ ।
फुटबल
स्पोर्टस् मिटमा सम्पन्न मावि सिनियर फुटबलको उपाधि भने स्नोभ्यूले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा स्नोभ्यूले शान्तीदिप माविलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । टिमलाई उपाधि दिलाउन ६३ औं मिनेटमा दृष्य पुनले एक मात्र गोल गरे । उनी सिनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए ।
मावि सिनियरतर्फको फुटबलमा मेरीगोल्ड मावि तेश्रो भएको छ । मेरीगोल्डले बालोदयलाई २-१ गोलले पराजित गर्दै तेश्रो भएको हो । मेरीगोल्डका लागि मिलन फगामी र गणेश भट्टचनले गोल गरे भने एक गोल नारायण गिरीले बालोदयका लागि फर्काए ।
यस्तै, जुनियरतर्फ फुटबलको च्याम्पियन भने इडेन मावि भएको छ । इडेन र रेन्वो एकेडेमीका विच भएको फाइनलमा दुवै टिमले निर्धारित समयमा १-१ गोल गरेपछि खेलको नतिजा टाइव्रेकरमा पुगेको थियो ।
निर्धारित इडेनका लागि सुभाष गुरुङ र रेन्वोका लागि अनुप पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा ३-२ ले पराजित गर्दै इडेन च्याम्पियन बनेको प्याब्सन कास्कीले जनाएको छ ।
जुनियर तर्फ बेसलाईनले कुमुदिनीलाई १-० गोलले पराजित गर्दै तेश्रो स्थान हात पार्न सफल भयो । उक्त खेलमा बेसलाइनका लागि खालिद मियाँले गोल गरेका थिए । जुनियरतर्फ फुटबलमा इडेनका सुभाष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
छात्र भलिवल
प्याब्सन स्पोर्टस् मिटमा बुधबार सम्पन्न छात्र भलिवलमा माविको फाइनल खेलमा सिर्जना माविले न्यू मोडललाई २५-१८, २५-११, २३-२५ र २५-२२ ले खेल जित्दै उपाधि जितेको छ ।
यस्तै, कक्षा ११-१२ (प्लस टु) छात्रतर्फ गुरुकुल माविले फाइनल खेल जितेको छ । गुरुकुलले सिर्जनालाई २५-२१, २५-१८ र २५-२० को सोझो सेटमा पराजित गरेको थियो ।
मावि छात्रतर्फ न्यू मोडलका सुशान्त सिंह ठकुरी र छात्र मावितर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
एथलेटिक्स
एथलेटिक्स मावि छात्रतर्फ टप्स मावि च्याम्पियन हुँदा बेथानी दोश्रो र लिटिल स्टेप मावि तेश्रो भएको छ । यस्तै, मावि छात्रातर्फ टप्स मावि प्रथम, बेसलाइन दोश्रो र प्रगती मावि तेश्रो भएको छ । एथलेटिक्स प्लस टुतर्फ प्रतिभा मावि प्रथम, स्नोभ्यू द्वित्तीय र सिर्जना मावि तृतीय भएका छन् ।
एथलेटिक्स छात्रतर्फ टप्सका ओमित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ टप्सकै सविना खातुन मियाँ उत्कृष्ट बन्न सफल भइन् ।
बुधबार पोखरा रंगशालामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सम्पन्न भएका छन् । मावि छात्रतर्फ १५०० मिटर दौडमा टप्सका ओमित गुरुङ पहिलो, लिटिल स्टेपका मिलन नेपाली दोश्रो र ढुङ्गेसाँघु माविका सुमन गुरुङ तेश्रो भए । एथलेटिक्स ४०० मिटरतर्फ बेथानीका सुरज गुरुङ पहिलो, सिर्जनाका आयूष खड्का दोश्रो र विएमजीका स्वप्निल कार्की तेश्रो हुन सफल भए ।
मावि छात्रातर्फ ४०० मिटर दौडमा टप्सकी सविना खातुन मियाँ पहिलो, प्रगतिकी प्रिया सेवा दोश्रो र सगरमाथाकी अनुष्का अधिकारी तेश्रो भइन् ।
रिले ४१०० मिटर छात्रतर्फ टप्स मावि पहिलो, शान्तिदीप मावि दोश्रो र नेशनल इन्भेन्टिभ तेश्रो भएका छन् भने छात्रतर्फ टप्स, फिसटेल र सोसल पव्लिक क्रमशः पहिलो, दोश्रो र तेश्रो भएका छन् ।
विजयी खेलाडीहरुलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, केन्द्रिय सल्लाहाकार गणेशमान सिंह भण्डारी, केन्द्रिय उपाध्यक्ष द्वय बिर बहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
स्पोर्टस् मिटमा भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । यसैगरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जना सहभागी थिए ।
यसैगरी कक्षा ११-१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालय र कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १-१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिम सहभागी थियो ।