arrow

‘एक वडा, एक मावि, एक अक्षयकोष’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
jaimini-nagarpalika.jpg

बागलुङ । जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान शुरु भएको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।

सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान शुरु गरेको छ । दाताहरुकै सहयोगका भरमा उक्त अभियान सुरु गरिएको संस्थापक छायादत्त चापागाईंले बताए ।

पहिलो चरणमा नगरपालिका-७ जैदीमा रहेको संस्कृत मावि, वडा नं ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा नं ५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा नं ४ सर्कुवामा रहेको जनता माविलाई अक्षयकोषको रकम प्रदान गरिएको छ । उक्त संस्थाले विद्यालयमै रहनेगरी प्रतिविद्यालय रु १५ हजार प्रदान गरेको हो । 

कोषबाट आउने वार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने वा आवश्यकताका आधारमा जहेन्दार विद्यार्थीलाई विद्यालयले छात्रावृत्ति प्रदान गर्न अन्य स्रोत खोजी गरी कोष वृद्धि गर्नसक्ने उनले बताए । 

पहिलो चरणमा पाँच वटा मात्रै विद्यालयका लागि कोषको रकम प्रदान गरिएको भए पनि क्रमशः १० वटै वडाका एक-एक वटा विद्यालयमा पुर्‍याइने संस्थापक चापागाईंले जानकारी दिए । उक्त संस्थाले नेपालमा र विदेशमा रहेका संस्थाका सदस्यबाट स्वःस्फूर्त सहयोग सङ्कलन गरेर कोषका लागि पैसा जम्मा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ