- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रे । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्र नं २ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न नेपाली कांग्रेस काभ्रेको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।
पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।
सो क्षेत्रमा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाले जितेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा कांगे्रसका तर्फबाट काभ्रे क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताए ।
केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा सहभागी नजनाई पार्टीप्रति गैरजिम्मेवार बन्दै आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर नेकपा(एमाले)का उम्मेदवारलाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँड्दै कार्यकर्तालाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय समितिमार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ ।
केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको तथा यसपटक सूर्यमा मतदान गर्नु अर्कोपटक आफूलाई सहयोग प्राप्त हुने भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भनि उजुरी परेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाईसमेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भनी उजुरी परेको छ ।
बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांगे्रसले निर्देशन दिने निर्णयसमेत गरेको लामाले जनाएका छन् ।