- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकार गठनमा पर्ख र हेरको अवस्थामा रहेको नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका पराजित उम्मेदवारको भेला बोलाएर प्रशिक्षणको तयारी गरेको छ ।
देशभरका नेताहरुलाई काठमाडौंमा बोलाएर एमालेले प्रशिक्षण दिन लागेको हो । एमालेले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिकाबारे प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नु पर्ने भूमिका, पार्टी दोस्रो भए पनि पार्टीले खेल्नु पर्ने भूमिका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने एमालेले जनाएको छ ।
प्रचार विभागका उपप्रमुखका अनुसार भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागीता हुनेछ ।
भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कूल ७८ सिट प्राप्त गरेको छ ।
प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ । अहिले देशभरबाट एमालेका नेता कार्यकर्ता र उम्मेदवार तथा निर्वाचित सांसदहरु काठमाडौं आउन थालेका छन् ।
आन्तरिक तयारी तीव्र
एमालेले बाहिर सरकार गठनमा पार्टी नलाग्ने भन्दै आएको छ । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव गोकर्ण विष्टले पार्टी प्रतिपक्षमा बताइरहेका छन् ।
तर एमालेकै उच्च तहका नेताहरु फेरि वामपन्थी सरकार बनाउनु पर्छ भनेर कम्मर कसेर लागिरहेका छन् । उनीहरुले माओवादी केन्द्रका नेताहरुसँग विभिन्न चरणवद्ध छलफल गरेका छन् ।
माओवादीले त अहिलेको कामचलाउ सत्तागठबन्धन त्याग्न पनि तयार रहेको सन्देश दिँदै एमालेसँग मिलेर सरकार बनाउन सकिने बताएको छ । त्यतिमात्र होइन नेकपा एसले पनि वामपन्थी सरकारमा जोड दिएको बुझिन्छ ।
पञ्चहरुको झुण्ड रहेको राप्रपालाई समेटेर भए पनि वामपन्थी नेतृत्वको सरकार बनाउनु पर्नेमा चिनियाँ पक्षसमेत पनि लागिपरेको छ । तसर्थ बाहिर सरकारमा चासो नदेखाएको जस्तो गरेर एमालेले यसको सक्रियता लिएको पाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारमात्रै सात दिनको समय दिएर सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आग्रह गरिसकेकी छिन् ।