- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा भएको मैत्रीपूर्ण फुटवलमा गण्डकी-११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लव विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेशनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक-एक गोलको योगदान दिए । काथेरेन्योले पहिलो हाफमा गण्डकी-११ माथि २-० को अग्रता कायम गरेको थियो । पहिलो हाफदेखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लवले पाएका केही अवसर खेर समेत गएका थिए । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पूर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए ।
गण्डकी-११ ले शुरुवातदेखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी-११ ले केही खेल सुधारिएको प्रस्तुतः गर्न खोजेपनि स्कोर भने निकाल्न सकेन । गण्डकीका जय गुरुङले प्रहार गरेका वल पोष्ट माथिबाट बाहिरएको थियो भने गण्डकीले खासै पोष्टचार्ज गर्ने अवसर पाउन सकेन ।
खेलपछि काथेरेन्यो क्लवका प्रशिक्षक जुलियो कोभोसले दुबै टिमले राम्रो खेलेको बताउदै नेपालको खेल निकै फाष्ट हुने गरेको बताए । पुनः अवसर पाएमा नेपाल आउने इच्छा भएको उनले जनाए । नेपालीहरुको खेलाडीहरुले एयरवलको पक्ष कमजोरी भएको प्रशिक्षक कोभोसले बताए ।
गण्डकी-११ का प्रशिक्षक राजेन्द्र तामाङले विदेशी व्यवसायीक फुटवल टिमसंग आफ्नै मैदानमा खेल्न पाउनु खुशीको कुरा भएको बताए । स्पेनजस्तो देशको खेलमा छोटो समयमा तयार पारेको गण्डकीले सन्तोषजनक खेल खेलेको उनले जनाए ।
गण्डकीका कप्तान अनिल गुरुङले शारीरिक तथा टेक्निकल रुपमा उनीहरु भन्दा आफूहरु कमजोर भएको बताए । स्पेनको बी डिभिजनको क्लवसंग आफूहरु खेल्दा युवा खेलाडीलाई प्रोत्साहन हुने नेपाली टिमका पूर्व कप्तानसमेत रहेका गुरुङले बताए । भोलि बिहीबार काठमाडौं-११ संग स्पेनको टोलीले मैत्रिपूर्ण खेल हुने बताइएको छ ।