arrow

प्रचण्डलाई टोपी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
topi diwas with prachanda.jpg

पोखरा । पोखरामा १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली टोपी प्रदान गर्दै दिवस बनाइएको हो ।

प्रतिष्ठानले ‘हाम्रो टोपी, हाम्रो शान’ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै टोपी दिवस मनाउँदै आएको छ । यस पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली टोपी दिएर दिवस मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए ।  

प्रतिष्ठानले नेपाली टोपीसहित राष्ट्रिय पोशाकको पहिचान र सम्वर्द्धन गर्न राज्यले प्रमुख भूमिका खेल्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षणसमेत गराएको थियो । 

प्रतिष्ठानले पूर्वपर्यटन मन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतलाई नेपाली टोपी लगाइएको थियो । 

यसैगरी अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि नेपाली टोपी लगाउँदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो । नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसकारुपमा मनाउँदै आएका छन् । 

नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानकारुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठानका सचिव सचिन रानाभाटले बताए । 

ढाका टोपी नेपाली पहिचान हो । नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपूजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । 

त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । 

ढाका टोपीको ‘ढाका’ शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको उल्लेख गर्दै प्रतिष्ठानले जून एउटा अपभ्रम र मिथ्या मात्र भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ